सियोल, दक्षिण कोरिया
महिला जागरण, सामाजिक न्याय र परिवर्तनको अग्रदूत योगमाया न्यौपानेको योगदानमाथि केन्द्रित विशेष विमर्श कार्यक्रम यही जुलाई १३ तारिखका दिन दक्षिण कोरियाको राजधानी सियोलमा आयोजना हुने भएको छ।
“नेपाल समाज रूपान्तरणमा योगमायाको योगदान” विषयक उक्त कार्यक्रम योगमाया न्यौपानेसहित ६८ जनाको जलसमाधिको ७८औँ स्मृतिको अवसरमा आयोजना गरिएको हो। कार्यक्रमको प्रमुख आतिथ्य नेपालका महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङफे लिम्बूले गर्नुहुनेछ।
उक्त विमर्शमा आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष बिशन राई, पूर्वी नेपाल समाज कोरियाका अध्यक्ष केदार निरौला, र खोटाङ सेवा समाज कोरियाका अध्यक्ष सुष्मा रानाहँमा राईले योगमायाको विचार, योगदान र त्यसको वर्तमान सन्दर्भमा विश्लेषणात्मक धारणा प्रस्तुत गर्नुहुनेछ।
कार्यक्रमको आयोजना भोजपुर परिवार, दक्षिण कोरियाले गरेको हो।
कार्यक्रम दक्षिण कोरियाको दोङ्देमुनस्थित पूर्वी नेपाल समाजको सभाहलमा मध्यान्ह १२:३० बजे सुरु हुनेछ।
सामाजिक रूपान्तरणमा चासो राख्ने, इतिहासप्रति जानकार बन्न इच्छुक, तथा योगमायाको विचारलाई बुझ्न चाहने सम्पूर्णलाई कार्यक्रम आयोजकले उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ।






