काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बुधबारदेखि राज्यका तर्फबाट पाउँदै आएको सबै सेवा सुविधा औपचारिक रूपमा त्याग गरेकी छिन् । हालै एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेसँगै उनले पूर्वराष्ट्रप्रमुखको हैसियतमा प्राप्त हुँदै आएका सेवा सुविधा त्यागेको पत्र गृह मन्त्रालयमा बुझाएकी हुन् ।
गृहसचिवलाई सम्बोधन गर्दै लेखिएको पत्रमा बुधबारदेखि लागू हुने गरी कुनै पनि सेवा सुविधा नलिने उल्लेख गरिएको छ । सेवा सुविधा परित्याग गर्ने उनी सम्भवतः पहिलो पूर्वराष्ट्रप्रमुख नेतृ बनेकी छिन् ।
पूर्वराष्ट्रपतिका रूपमा विद्यादेवी भण्डारीलाई सरकारले एक उपसचिव सरह स्वकीय सचिव, कार्यालय सहयोगीसहित तीन कर्मचारीको सेवा सुविधा र सुरक्षाकर्मीको घरभाडा उपलब्ध गराउँदै आएको थियो ।
यद्यपि, प्रोटोकलअनुसार पूर्वराष्ट्रप्रमुखको हैसियतमा दिइने सुरक्षा र केही सुविधा भने कायम नै रहने गृह मन्त्रालयले जनाएको छ ।
यो निर्णयलाई राजनीतिक वृत्त र सर्वसाधारणले समयसापेक्ष र उदाहरणीय कदमको रूपमा लिएका छन् । एमाले राजनीतिमा सक्रिय हुँदै गरेको अवस्थामा भण्डारीको यो निर्णयलाई विशेष सन्देशमूलक मानिएको छ ।






