न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब नेकोस कप राष्ट्रिय महिला भलिबलको च्याम्पियन

0
263

 काठमाडौंको टिप टप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले पहिलो नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ। स्पाइकर सलिना बुढामगर र मिडल ब्लकर सुमित्रा रेग्मीको उत्कृष्ट प्रदर्शनमा भर परेकाे डायमण्डले बुधबार भएको फाइनलमा विभागीय नेपाल एपीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेको हो।

सदैव उपाधिका बलिया दाबेदार डायमण्डले २०७९ सालको छैटौं केएनपी महिला भलिबल प्रतियोगितापछि पहिलो पटक उपाधि जितेको हो। विशेषगरी पछिल्लो केही फाइनलमा पुगे पनि उपाधि गुमाइरहेको डायमण्डले यस पटक पुरानो नतिजा उल्टाउँदै चम्किलो सफलता हात पारेको छ।

मकवानपुरको हेटौंडा–४ हुप्राचौरस्थित भलिबल कोर्टमा भएको फाइनल खेलमा डायमण्डले पहिलो सेट सहजै २५–१२ ले जित्यो। दोस्रो सेटमा भने डायमण्डले एक समय ११–१८ को पछि परेको अवस्थाबाट पुनरागमन गर्दै २५–२३ ले सेट आफ्नो पक्षमा पार्‍याे। तेस्रो सेटको सुरुवात प्रतिस्पर्धात्मक बने पनि ५–५ को अवस्थामा एपिएफले रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै कोर्ट छाडेपछि खेल केहीबेर रोकिएको थियो। खेल पुनः सुरु भएपछि डायमण्डले १०–५ को अग्रता बनायो र अन्ततः सेट २५–१८ ले जित्दै उपाधि पक्का गर्‍यो।

उपाधिसँगै डायमण्डले ट्रफी, मेडल, प्रमाणपत्र र ४ लाख ९९ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्‍यो। दोस्रो भएको एपिएफले ३ लाख, तेस्रो स्थान हासिल गरेको नेपाल पुलिस क्लबले १ लाख र चौथो भएको गण्डकी प्रदेशले ५१ हजार रुपैयाँ नगद पुरस्कार पाए।

व्यक्तिगत विधातर्फको उत्कृष्टता

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी न्यु डायमण्डकी सुमित्रा रेग्मी घोषित भइन्। उदियमान खेलाडीको उपाधि गण्डकीकी रिक्जना बोटेले हात पारिन्। अन्य विधातर्फ उत्कृष्ट हुनेहरूमा —
• स्पाइकर : निरुता ठगुन्ना (एपिएफ)
• सर्भर : कोपिला राना (पुलिस)
• लिवेरो : सलिना श्रेष्ठ (न्यु डायमण्ड)
• ब्लकर : गरिमा बोहोरा (एपिएफ)
• सेटर : प्रगतिनाथ (न्यु डायमण्ड)
• प्रशिक्षक : कुमार राई (न्यु डायमण्ड) उनीहरूले ट्रफीसहित ५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरे।  नेपाल स्पोर्ट्स सेन्टर (नेकोस) को आयोजनामा गत ७ असारदेखि लिग कम नकआउटका आधारमा सुरु भएको प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेश गरी ६ टोलीको सहभागिता रहेको थियो।

विजयी टोली तथा उत्कृष्ट खेलाडीलाई बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे लगायत अतिथिहरूले पुरस्कार तथा ट्रफी हस्तान्तरण गरेका थिए। 

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्