काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले वर्तमान सरकारको एक वर्षको कार्यकाल सन्तोषजनक, सफल र प्रभावकारी भएको ठहर गरेको छ।
पार्टी केन्द्रीय कार्यालयमा बुधबार बसेको स्थायी कमिटी बैठकपछि आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको समग्र कार्यसम्पादन सकारात्मक रहेको बताएका छन्। अध्यक्ष ओलीले विकास, समृद्धि र सुशासनको पक्षमा सरकारको काम उल्लेखनीय रहेको र जनताले पनि त्यसलाई अनुभव गरिरहेको दाबी गरे।
बैठकमा प्रमुख राजनीतिक, आर्थिक र कूटनीतिक उपलब्धिहरूको समीक्षा गर्दै आगामी रणनीति र कार्यक्रम तय गरिएको जनाइएको छ। एमालेले सरकारको नेतृत्वमा मुलुकले आर्थिक सुधार र सामाजिक समृद्धिको दिशामा गति लिएको बताउँदै आगामी दिनमा अझ प्रभावकारी रूपमा अगाडि बढ्ने जनाएको छ।
बैठकमा के-के निर्णय ?
बैठकमा पार्टी संगठन सुदृढीकरण, आगामी स्थानीय तथा राष्ट्रिय निर्वाचन तयारी, र जनताका समस्या समाधानका लागि थप सक्रियता देखाउने निर्णय भएको छ। यस्तै, हाल देशमा देखिएका आर्थिक चुनौती समाधानका लागि दीर्घकालीन योजना अघि बढाउने विषयमा समेत छलफल भएको जानकारी गराइएको छ।
अध्यक्ष ओलीले पत्रकार सम्मेलनमा भने, “सरकारको कामकाजबाट जनता सन्तुष्ट छन्। समस्याहरू समाधान हुँदैछन्। विकास निर्माण, आर्थिक सुधार र जनताको जीवनस्तर उकास्ने काममा सरकार अग्रसर छ। हामी अझै बलियो सरकार र सुशासन कायम गर्न कटिबद्ध छौँ।”






