सउल, दक्षिण कोरिया दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले आफ्नो मन्त्रिपरिषद् विस्तार गर्दै श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी ५७ वर्षीय किम यङ–हुनलाई दिने घोषणा गरेका छन्। तर यो घोषणा भइरहँदा किम भने यात्रुहरूले भरिएको रेल चलाइरहेका थिए — मोबाइल फोन अफ गरेर आफ्नै कर्तव्यमा तल्लीन।
साधारण पृष्ठभूमिबाट आएका किम यङ–हुन यसअघि रेल चालकका रूपमा कार्यरत थिए। राष्ट्रपतिबाट मन्त्री पदको मनोनयन प्राप्त हुँदा उनी गिमछन (Gimcheon) स्टेशन पुग्नै लागेका थिए। स्टेशनमा रेल रोकिएपछि एक सहकर्मीले उनलाई मन्त्री नियुक्तिको खबर सुनाए। यो खबर सुनेर उनी केही क्षण मौन रहे — स्तब्ध, चकित र भावुक।
किमको यस्तो सादा र कर्तव्यनिष्ठ जीवनशैलीले अहिले कोरियाली समाजमा सकारात्मक तरंग ल्याएको छ। सामाजिक सञ्जालदेखि मुख्य समाचार माध्यमसम्म उनको इमानदार सेवाभावको प्रशंसा भइरहेको छ।
उनको यो नियुक्तिले श्रमिक हक, रोजगार सुरक्षाजस्ता मुद्दाहरूमा आशा र चासो बढाएको छ। श्रम क्षेत्रका विज्ञहरू भन्छन् — “पदीय मर्यादा भन्दा पहिला, कामप्रतिको समर्पण देखाउने किम जस्ता व्यक्तिले देशको श्रमिक नीति अझै सशक्त बनाउने छन्।”
राष्ट्रपति लि जे–म्युङको नेतृत्वमा गठित नयाँ मन्त्रिपरिषद्ले सामाजिक न्याय, श्रम सुधार र जनमुखी शासनमा विशेष जोड दिने घोषणा गरिसकेको छ। यही अभियानमा किम यङ–हुन जस्तो व्यक्ति मन्त्री बन्नु सरकारको ‘जनतामुखी नेतृत्व’प्रतिको प्रतिबद्धताको पनि प्रमाण हो।
अब सबैको चासो केमा केन्द्रित छ भने — रेलको स्टेयरिङ सम्हाल्ने किमले मन्त्रालयको स्टेयरिङ कसरी सम्हाल्ने छन्?






