सउल, दक्षिण कोरिया – गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको १०औं महाधिवेशन आगामी जुलाई २६ र २७ तारिखमा सउलमा हुने भएको छ। सो महाधिवेशनलाई लक्षित गर्दै संघकी हालकी वरिष्ठ उपाध्यक्ष पार्वती मोक्तान (तामाङ)ले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन्।
एनआरएनए कोरियामा लामो समयदेखि सक्रिय भूमिका खेल्दै आएकी मोक्तानले संगठनको सुदृढीकरण, महिलाको प्रतिनिधित्व र प्रवासी नेपाली समुदायको हक–हितमा अझ प्रभावकारी ढंगले काम गर्ने लक्ष्यका साथ आफूले उम्मेदवारी दिएको बताएकी छिन्।
उनले भनिन्, “मैले संघको विभिन्न तहमा काम गर्दै संस्थागत अनुभव बटुलेकी छु। अब नेतृत्वदायी भूमिकामा रहेर कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायको हितमा काम गर्ने चाहना बोकेर अघि बढेकी हुँ।”
महाधिवेशन नजिकिँदै जाँदा उम्मेदवारी घोषणा हुने क्रम जारी रहेको छ। यसै क्रममा हरि भट्टराईले पनि आफ्नो उम्मेदवारी घोषणा गरिसक्नुभएको छ। आगामी कार्यकालका लागि नेतृत्व चयन गर्ने यो निर्वाचनले एनआरएनए कोरियाको भावी दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।






