दक्षिण कोरिया – कास्की परिवार दक्षिण कोरियाद्वारा सलनालको अवसरमा आयोजित ‘माछापुच्छ्रे सांगितिक सौगात भाग–४’ कार्यक्रमबाट ५२ लाखभन्दा बढी घाटा भएको छ। नेपालको चर्चित ब्यान्ड १९७४ ए.डी. को मुख्य प्रस्तुति रहेको यस सांगीतिक कार्यक्रमको आर्थिक विवरण सार्वजनिक गरिएको छ।
आयोजकका अनुसार कार्यक्रमबाट कुल आम्दानी १० करोड २८ लाख ६ हजार ४७३ वन भएको थियो भने कुल खर्च १० करोड ८० लाख ५४ हजार ७२० वन पुगेको थियो। त्यसअनुसार कार्यक्रमबाट ५२ लाख ४८ हजार २५० वन बराबरको घाटा व्यहोर्नु परेको छ।
कार्यक्रमका आर्थिक संयोजक आरती ह्योल्मोले हालसम्म १९ लाख ५६ हजार २२२ वन उठ्न बाँकी रहेको जानकारी दिइन्।
कास्की परिवार दक्षिण कोरियाका अध्यक्ष सन्तोष पौडेलले कोरियामा नेपाली कला, संस्कृति र सङ्गीतलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउँदै आर्थिक हिसाबले घाटा भए पनि भावनात्मक रूपमा कार्यक्रम निकै सफल भएको बताए।
उनले प्रतिकूल मौसमका बीच पनि नेपाली दर्शक, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेख्य सहयोग र उपस्थिति प्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका छन्।







