गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाका वर्तमान उपाध्यक्ष हरि प्रसाद भट्टराईले आगामी अधिवेशनमार्फत अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
बैंकिङ क्षेत्रका विज्ञ भट्टराईले दीर्घकालीन पेशागत अनुभव र संस्थागत नेतृत्व क्षमतालाई एकीकृत गर्दै एनआरएनएलाई एकजुट, समन्वित र गतिशील संगठन बनाउने अठोटसहित आफ्नो चुनावी यात्रा सुरु गरेका हुन्।
दक्षिण कोरियामा विद्यार्थी भिसामा प्रवेश गरेका भट्टराईले त्यहींको विश्वविद्यालयबाट स्नातकोत्तर डिग्री हासिल गरेका छन्। विद्यार्थी, श्रमिक तथा पेशाकर्मी समुदायको हकहितमा निरन्तर क्रियाशील रहँदै आएका उनले सामाजिक र संगठनात्मक क्षेत्रमा सशक्त उपस्थिति बनाएका छन्।
उनले सार्वजनिक गरेका एजेन्डाहरूमा विगत केही समयदेखि विभाजनमा रहेका दुई एनआरएनएलाई सहमति र साझा नेतृत्वमार्फत एक बनाउने, श्रमिकको हित संरक्षण, सुरक्षित आप्रवासन नीति, रेमिट्यान्सको सदुपयोग, र प्रवासी लगानीलाई नेपालमा उत्पादनमुखी क्षेत्रमा प्रवाह गर्ने जस्ता विषयहरू समेटिएका छन्।
भौगोलिक हिसाबले पूर्वी नेपालको र सम्पूर्ण युवाको सशक्त साथ र समर्थन आफुलाई मिल्नेमा उमेद्वार भट्टराई ढुक्क रहेको बताए ।
जुलाई महिनामा हुन गइरहेको एनआरएनए दक्षिण कोरियाको १०औं अधिवेशनलाई लक्षित गर्दै आएको यो उम्मेदवारीले संस्थाभित्र वैचारिक बहस र नेतृत्व प्रतिस्पर्धामा नयाँ ऊर्जा थपेको छ।






