नेपाली लोक तथा दोहोरी संगीतमा तीन दशकदेखि समर्पित गायक तथा सर्जक कमल बिरही थापा ‘बिरही’ ‘राष्ट्रिय गायन सम्मान २०८१’ बाट सम्मानित भएका छन्।
‘गुणस्तरीय सिर्जनालाई प्रोत्साहन, सर्जकप्रति सम्मान’ भन्ने मूल नाराका साथ क्वालिटी फिल्म्स प्रा.लि. द्वारा आयोजित चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८१ अन्तर्गत उक्त सम्मान प्रदान गरिएको हो।
‘बिरही’ नेपाली मौलिक भाकाको संरक्षण, सृजनात्मकता र प्रवर्द्धनमा निरन्तर लागिरहने सर्जक हुन्। पछिल्लो समय दक्षिण कोरियाबाट समेत नेपाली गीत–संगीतको सेवा र प्रवर्द्धनमा सक्रिय छन्।
उनका गीतहरूले नेपाली समाज, संस्कृति र गाउँघरको आत्मा बोकेको विशेष पहिचान बनाएका छन्।
उक्त सम्मान काठमाडौंको चलचित्र विकास बोर्ड, चावहिलमा आयोजित समारोहमा प्रदान गरिएको हो। कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रमुख अतिथि थिए।
गायक ‘बिरही’को अनुपस्थितिमा सम्मानपत्र उनका भाइ रेस बिसीले ग्रहण गरे।
सम्मान प्राप्तिपछि उनले आयोजकप्रति आभार व्यक्त गर्दै नेपाली लोकसंगीत र संस्कृतिप्रतिको समर्पण अझ सशक्त बनाइरहने बताएका छन्।
‘बिरही’ ले प्राप्त गरेको यो सम्मानले लोकसंगीतमा लागेका अन्य सर्जक–कलाकारहरूलाई पनि थप प्रेरणा र हौसला दिने विश्वास लिइएको छ।






