बागलुङ कप–२०२५ : कोरियामा नवौँ भलिवल प्रतियोगिता हुँदै, पञ्चेबाजासहितको भव्य तयारी

0
193

दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै ‘बागलुङ समाज कोरिया’ले गौरवपूर्ण नवौँ संस्करणको मैत्रीपूर्ण भलिवल प्रतियोगिता ‘बागलुङ कप–२०२५’ आयोजना गर्ने भएको छ। नेपाल भलिवल संघ, दक्षिण कोरियाको समन्वयमा हुने उक्त प्रतियोगिता यही जुलाई १३ तारिख शनिबार, 아주 युनिभर्सिटी (Ajou University) को भव्य मैदानमा आयोजना हुने आयोजक समितिले जानकारी दिएको छ।

प्रतियोगितामा सहभागी हुन चाहने टोलीहरूका लागि टिम दर्ता तथा टाइसिट जुलाई ६, आइतबारका दिन हुने जनाइएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमहरूलाई आकर्षक पुरस्कार राशीसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। प्रतियोगितामा प्रथम हुने टिमले २५ लाख कोरियन वन प्राप्त गर्नेछ भने दोस्रो हुने टिमलाई १५ लाख वन दिइनेछ। त्यस्तै, तेस्रो हुने दुई टिमलाई जनही ५ लाख वनका दरले पुरस्कार प्रदान गरिनेछ।

खेलमा व्यक्तिगत विधामा विशेष सम्मानको व्यवस्था गरिएको छ। उत्कृष्ट खेलाडी (MVP) लाई १ लाख वनसहित ट्रफी र प्रमाणपत्र दिइनेछ। साथै उत्कृष्ट स्पाइकर, डिफेन्सर, ब्लकर, सर्भर र लिफ्टरलाई जनही ५० हजार वन, ट्रफी र प्रमाणपत्रसहित सम्मान गरिनेछ।

यसपटकको प्रतियोगिता थप भव्य र सांस्कृतिक बनाउने उद्देश्यले आयोजकले विशेष तयारीस्वरूप नेपाली परम्परागत पञ्चेबाजा समेत प्रस्तुत गर्ने भएको छ। प्रतियोगिता स्थलमा गुञ्जिने पञ्चेबाजाले खेलमा रमाइलोपन थप्ने विश्वास गरिएको छ।

बागलुङ समाज कोरियाले कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण व्यवसायिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक संघसंस्था, खेलप्रेमी महानुभावहरू र कोरियावासी नेपाली समुदायमा आर्थिक, नैतिक र भौतिक सहयोगका लागि हार्दिक अनुरोध गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्