काठमाडौँ, — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार भारत र पाकिस्तानबीच हाल कायम गरिएको युद्धविरामको प्रशंसा गरेका छन्। राष्ट्रपति ट्रम्पले दुबै मुलुकलाई वार्तामार्फत शान्तिपूर्ण समाधानको बाटो रोजेकोमा धन्यवाद व्यक्त गर्दै दक्षिण एसियाली क्षेत्रमा स्थायीत्व र सहकार्यको पक्षमा आफू उभिएको बताएका छन्।
ट्रम्पले सामाजिक सञ्जालमार्फत दिएको सन्देशमा भनेका छन्, “भारत र पाकिस्तानबीच युद्धविराम कायम हुनु सुखद खबर हो। दुबै देशका नेताहरूले वार्ताको बाटो रोज्नु सकारात्मक पहल हो। अमेरिका सधैं शान्ति र स्थायीत्वको पक्षमा उभिन्छ।”
भारत र पाकिस्तानबीच पछिल्लो समय सीमा क्षेत्रमा तनाव बढेको थियो। दुवै पक्षले सैन्य भिडन्तमा निरन्तर गोलीबारी गरेको समाचारहरू आएका थिए। तर पछिल्लो समझदारीअनुसार दुवै देशले युद्धविरामको पालना गर्ने सहमति जनाएका छन्।
अन्तर्राष्ट्रिय समुदायले पनि उक्त युद्धविरामलाई सकारात्मक कदमको रूपमा लिएको छ। राष्ट्रसङ्घ, युरोपेली युनियन लगायतका निकायहरूले भारत र पाकिस्तानलाई वार्तामार्फत दीर्घकालीन समाधान खोज्न सुझाव दिएका छन्।






