कोरियामा कार्यरत नेपाली श्रमिकहरूका लागि विशेष प्रशिक्षण कार्यक्रम हुने

0
188

 

दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकहरूका लागि श्रमसम्बन्धी कानुनी जानकारी तथा पछिल्ला नीति परिवर्तनबारे व्यापक जानकारी दिने उद्देश्यले एक विशेष प्रशिक्षण कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रम आउँदो आइतबार, 2025 मे 11 तारिख दिउँसो 3:30 बजे Zoom भर्चुअल प्लेटफर्ममार्फत सञ्चालन गरिनेछ।

यो प्रशिक्षण कार्यक्रम विगत 15 वर्षभन्दा बढी समयदेखि कोरियामा विदेशी श्रमिकहरूको हकहितमा समर्पित रहेर सेवा दिँदै आउनु भएका उईजाङबु विदेशी परामर्श केन्द्रका प्रमुख 류지호 (रिहुचिहो) को संयोजनमा सञ्चालन गरिनेछ। कार्यक्रमको सह-प्रशिक्षकका रूपमा लाक्पा शेर्पा (TDNK) ले सहयोग गर्नुहुनेछ, जसले श्रमिकहरूलाई बुझ्न सहज होस् भनेर नेपालीमा आवश्यक व्याख्या र मार्गदर्शन दिनुहुनेछ।

प्रशिक्षणमा कोरियाली श्रम कानुन अन्तर्गत सेवा अवकाश भत्ता (퇴직금), वार्षिक बिदा भत्ता (연차수당) जस्ता श्रमिकका अधिकारहरूबारे स्पष्ट जानकारी दिइनेछ। साथै, EPS प्रणालीमा हालै भएका नियम परिवर्तनहरू, कम्पनी परिवर्तनका प्रक्रिया र त्यससँग सम्बन्धित व्यावहारिक पक्षहरूबारे जानकारी प्रदान गरिनेछ। EPS मार्फत कोरियामा कार्यरत श्रमिकहरूको ठूलो चासोको विषय बनेको E-7-4 र E-7-4R भिसासम्बन्धी सम्पूर्ण प्रक्रिया, योग्यता र सम्भावनाहरू पनि प्रशिक्षणको मुख्य अंश हुनेछ।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले आफ्ना जिज्ञासा र समस्याहरू प्रत्यक्ष रूपमा राख्न सक्नेछन्, जसको उत्तर प्रशिक्षकद्वयले दिनेछन्। यस्तो कार्यक्रमले कोरियामा कार्यरत नेपाली श्रमिकहरूलाई आवश्यक कानुनी जानकारी, सुरक्षात्मक उपायहरू र भविष्य योजना बनाउन मद्दत पुग्ने आयोजकहरूको विश्वास छ।

Zoom मार्फत सहभागी हुनका लागि आवश्यक विवरण यसप्रकार छन्:

Zoom ID: 823 0325 7328
पासवर्ड: 1111
Zoom लिंक: https://us06web.zoom.us/j/82303257328?pwd=TYrK1yQM1LtgOZNawVWfS6vrCXEbyZ.1

कार्यक्रम आयोजकले सबै नेपाली श्रमिकहरूलाई समय मिलाएर सहभागी भई आवश्यक जानकारी लिन हार्दिक अनुरोध गरेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्