दक्षिण कोरियामा किराँती राष्ट्रिय मुक्ति मोर्चाको संयोजक सञ्जाल गठन

0
208

 

सोल, दक्षिण कोरिया – किराँती समुदायको ऐतिहासिक पहिचानको रक्षा र वर्गीय मुक्तिको अभियानलाई प्रवासमा समेत सशक्त रूपमा अघि बढाउने उद्देश्यका साथ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अन्तर्गतको किराँती राष्ट्रिय मुक्ति मोर्चाले दक्षिण कोरियामा आफ्नो संगठन विस्तार प्रक्रिया अघि बढाएको छ।

२०८२ साल वैशाख २२ गते, तदनुसार ५ मे २०२५ मा, जुम भर्चुअल माध्यममार्फत आयोजित विशेष भेलामा किराँती राष्ट्रिय मुक्ति मोर्चा कोरिया संयोजक सञ्जाल गठन गरिएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा किराँती राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय उपाध्यक्ष अशोक राई, विशेष अतिथि माओवादी केन्द्र प्रवास संगठन नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाका अध्यक्ष जीवन खतिवडा, र अन्य विशिष्ट अतिथिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

सभापतित्व किराँती युवा नेता तथा मञ्चका सहकोषाध्यक्ष **सुरज राई ‘किराँती’**ले गर्नुभएको थियो। भेलाबाट २३ सदस्यीय भेला आयोजक समिति गठन गरिएको छ, जसको संयोजकमा नहकुल राई ‘सञ्जाल किराँती’ (खोटाङ) चयन भएका छन्। सदस्यहरूमा राम साम्पाङ, टियास राई, प्रदिप राई, उत्तम कुलुङ, च्वाईस किराती ‘बिगब्याङ’, सागर किराँती, निर्मल राई, डिम्पल राई, फूलमान राई, ज्योतिहाङ राई, जीवन चाम्लिङ, अनिश कुलुङ, सिम्पल राई, अनोज चाम्लिङ, हिरादेवी राई, देव राई, लोकेन्द्र राई, दुर्योधन राई, लोचन थुलुङ, भरत राई, देवान चाम्लिङ र किसन राई रहेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष अशोक राईले प्रविधिको युगमा प्रवासमा रहेका युवाहरूको एकता र उनीहरूको ज्ञान तथा सीपको उपयोग समाज र राष्ट्रको समृद्धिका लागि उपयोगी हुने धारणा राखे।
त्यस्तै, अध्यक्ष जीवन खतिवडाले विगतमा किराँती मुक्ति मोर्चा निष्क्रिय हुन गएको उल्लेख गर्दै अब पुनः ऐतिहासिक मुद्दालाई उजागर गर्दै युवाहरूलाई संगठित गर्ने आवश्यकता औंल्याए। उनले धरानमा आयोजना हुन लागेको किराँती तथा लिम्बुवान मुक्ति मोर्चाको संयुक्त सम्मेलनले पहिचान आधारित प्रदेश नामाङ्कनको अभियानमा निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा माओवादी केन्द्र पूर्वी एसिया सदस्य केबी चाम्लिङ, आदिवासी जनजाति महासंघ दक्षिण कोरिया सचिव बि.बि. स्याङ्तान, र तामाङ राष्ट्रिय मुक्ति मोर्चा कोरिया संयोजक सुनिल तामाङलगायतको पनि उपस्थिति रहेको थियो।

यस भेलालाई किराँती मुक्ति अभियानको प्रवासमै पहिलो महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्