नयाँ दिल्ली, मङ्गलबार — भारतले पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीरमा रहेका आतंकवादी संगठनहरूका ठूला केन्द्रहरूमा हवाई हमला गरेको छ। “अपरेशन सिन्दुर” नाम दिइएको यो सैन्य कारबाही सोमबार राति भारतीय समयअनुसार १:३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा एकसाथ गरिएको थियो।
पछिल्लो १५ दिनअघि जम्मु-कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको जवाफस्वरूप यो कारबाही गरिएको भारतीय सञ्चारमाध्यमहरू उल्लेख गर्छन्। दैनिक भास्करका अनुसार, पाकिस्तानबाट प्राप्त स्थानीय रिपोर्टहरूमा बहावलपुरमा भएको आक्रमणमा ३० जनाको ज्यान गएको जनाइएको छ।
भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेअनुसार लश्कर-ए-तैयबा र जैश-ए-मोहम्मदका मुख्यालयहरू पूर्णरूपमा ध्वस्त पारिएका छन्। भारतीय वायुसेनाले पाकिस्तानको सीमा क्षेत्रमा २४ वटा क्षेप्यास्त्र प्रहार गरेको बताइएको छ। पाकिस्तान सेनाको प्रवक्ता, लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले यो पुष्टि गरेका छन्।
स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्पूर्ण अपरेशन सिन्दुरको रातभर निगरानी गरेका थिए। यो कारबाही भारतको सुरक्षा र आतंकवाद विरोधी रणनीतिमा एक महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।
यस आक्रमणपछि क्षेत्रीय तनाव फेरि चुलिने सम्भावना देखिएको छ। पाकिस्तानको आधिकारिक प्रतिक्रिया आउन बाँकी रहे पनि, अन्तर्राष्ट्रिय समुदायले शान्ति र संयमको आह्वान गर्न थालिसकेको छ।
[एजेन्सी रिपोर्ट]





