सुवन, दक्षिण कोरिया — प्रवासमा रहेर नेपाली साहित्यमा क्रियाशील लेखक राजेश सुवेदीद्वारा लिखित पहिलो उपन्यास ‘अभिसार’ को लोकार्पण २०२५ मे ४ तारिख आइतबारका दिन दक्षिण कोरियाको सुवन शहरस्थित उरी हिमालयन रेस्टुरेन्ट सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। इन्डीगो इङ्क प्रकाशन, काठमाडौं बाट प्रकाशित उपन्यास ‘अभिसार’ सुवेदीको पहिलो कृति हो।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) दक्षिण कोरिया र मुक्तक प्रतिष्ठान दक्षिण कोरियाको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आतिथ्य अनेसास एसिया कमिटी महासचिव ह्यारी बोन्डले गर्नुभएको थियो। कार्यक्रमको अध्यक्षता मुक्तक प्रतिष्ठान कोरियाका अध्यक्ष निर्दोष शिवले गर्नुभएको थियो भने विशेष अतिथि साहित्यकार तथा समालोचक आर.एन. अधिकारी रहनुभएको थियो।
कार्यक्रममा समीक्षक अधिकारीले उपन्यास ‘अभिसार’को संरचना, भाषा, सामाजिक यथार्थ, मनोविज्ञान र दार्शनिक पक्षहरूबारे समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै दार्शनिक पक्ष अझ स्पष्ट हुनसक्ने सुझावसमेत दिनुभयो।
कार्यक्रममा साहित्यिक रचनावाचन समेत गरिएको थियो। कवि सरोज सर्वहाराले कविता, रोदुङ यायावरले मुक्तक र *कमल नेपाल ‘घैंटे’*ले गजल वाचन गर्नुभएको थियो।
कार्यक्रम सञ्चालन आर पी सी संगमले गर्नुभएको थियो भने विजयता भण्डारी, अनेसास कोरियाका सचिवले स्वागत मन्तव्य राख्नुभएको थियो।
उपस्थित कोरियन साहित्यकार मुन छाङ गील र Eunju Jungले लेखक सुवेदीलाई कृतिको सफलताका लागि बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। प्रमुख अतिथि, विशेष अतिथि र कोरियन अतिथिहरुलाई आयोजक संस्थाले मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो।
अन्त्यमा, कार्यक्रम अध्यक्ष निर्दोष शिवले आफ्नै गजल प्रस्तुत गर्दै लेखक सुवेदीलाई सफल साहित्यिक यात्राको शुभकामना दिँदै उपस्थित सबैप्रति आभार प्रकट गर्नुभएको थियो।
कार्यक्रममा विजयता भण्डारी, कोशिश ओझा, राज विसर्जन, सुजन कोइराला, रुद्र कँडेल, डिइबी सिकारु, मुक्ति न्यौपाने, सुधाकर दाहाल, राधेश आचार्य, रविन्द्र ब. शाही, सुशील बि.क., जितेन चाम्लिङ, दिप प्रदिप, सन्देश ढकाल, करुणा लगायतका साहित्य अनुरागीहरूको उपस्थिति रहेको थियो। उनीहरूले लेखक सुवेदीलाई शुभकामनासहित आफ्ना रचना सुनाएका थिए।






