सिओल, दक्षिण कोरिया – गैर आवासीय नेपाली संघ (एनआरएनए) विपिन कुमार गुरुङ नेतृत्वको राष्ट्रिय समन्वय परिषद्, दक्षिण कोरिया द्वारा एकता महाधिवेशन २०२५ आयोजना गरिने भएको छ। “एकता, रूपान्तरण र सामाजिक उत्तरदायित्व: एनआरएनए दक्षिण कोरियाको साझा प्रतिबद्धता” नाराका साथ आगामी ६ अप्रिल, २०२५ मा सिओल, दक्षिण कोरियामा कार्यक्रम सम्पन्न गरिनेछ।
यस महाधिवेशनमा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ। प्रमुख अतिथिका रूपमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री अरुण कुमार चौधरी रहनेछन्। त्यस्तै, एनआरएनए आईसीसीका पूर्व अध्यक्ष तथा उच्चस्तरीय समिति संयोजक डा. शेष घले विशिष्ट अतिथिका रूपमा सहभागी हुनेछन्।
कार्यक्रममा एनआरएनए उच्चस्तरीय समिति सदस्य विनोद कुँवर अतिथिका रूपमा रहनेछन्।
यस महाधिवेशनले एनआरएनए दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई एकताबद्ध गर्ने, सामाजिक उत्तरदायित्वप्रति साझा प्रतिबद्धता जनाउने र रूपान्तरणको नयाँ युगतर्फ अग्रसर गराउने अपेक्षा गरिएको छ।






