दक्षिण कोरियामा सक्रिय संस्था डाइनामिक मोरङ कमिटी ले मे महिनाको पहिलो हप्तामा साधारण सभा तथा वनभोज कार्यक्रम आयोजना गर्ने भएको छ। “प्रवासमा रहेका मोरङ्गेलीहरूको एकता, आपसी सद्भाव, सहयोग, र सहकार्य हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित अगाडि बढिरहेको संस्थाले आनसानमा सम्पन्न सातौँ कार्यसमितिको पहिलो बैठक मार्फत यो निर्णय लिएको हो।
संस्थाका अध्यक्ष सन्तोष सिग्देल को अध्यक्षतामा बसेको बैठकमा महासचिव रविन्द्र भट्टराई ले सञ्चालन गरेका छलफलहरूमार्फत विभिन्न प्रस्तावहरू पारित गर्दै कार्यक्रमको तयारी अघि बढाइएको छ। बैठकमा संस्थाको संरचनात्मक सुदृढीकरण गर्दै संरक्षक तथा सल्लाहकार समूह समेत चयन गरिएको छ।
संस्थालाई मार्गदर्शन तथा समर्थन प्रदान गर्न डा. देवी बहादुर बस्नेत, नवराज शिवाकोटी, चन्द्र फुयाल, रोशन भट्टराई, र जीवनकुमार थापा लाई संरक्षक तथा संस्थापक सदस्यका रूपमा चयन गरिएको छ। त्यसैगरी, तारानाथ निरौला लाई वरिष्ठ सल्लाहकारका रूपमा नियुक्त गरिनुका साथै युवराज फुयाल, प्रकाश थापा, राज भट्टराई, प्रल्हाद राई, विश्वास रायमाझी, र मातृका भट्टराई लाई सल्लाहकारको भूमिकामा चयन गरिएको छ।
आगामी मे महिनाको पहिलो हप्तामा आयोजना हुने उक्त कार्यक्रममा नेपाली परिकारको स्वाद, मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुति, र पारिवारिक वातावरणमा रमाइलो गर्ने अवसर प्रदान गरिने बताइएको छ। अध्यक्ष सन्तोष सिग्देलले दक्षिण कोरियामा रहेका अन्य संघसंस्थाहरूलाई आफ्नो कार्यक्रमहरू सोही मितिमा नजुधाइदिन अनुरोध समेत गरेका छन्।