कमला केसी/दक्षिण कोरिया
नेकपा माओवादी केन्द्रको प्रवास संगठन नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाले आगामी मार्च २३ तारिख आइतबारका दिन सउलमा ‘कोरिया सन्देश’ नामक जर्नल विमोचन गर्ने भएको छ।
संगठनको छैटौं राष्ट्रिय अधिवेशनपछि नवनिर्वाचित केन्द्रीय समितिको १५ सेप्टेम्बर २०२४ मा बसेको प्रथम पूर्ण बैठकले उक्त जर्नल प्रकाशित गर्ने निर्णय गरेको थियो ।
संगठनका अध्यक्ष जीवन खतिवडाका अनुसार, यो जर्नलले कोरिया स्थित नेपाली समुदाय र समग्र कोरियालाई नेपालको बारेमा विभिन्न जानकारी सहित समसामयिक परिस्थितिबारे अवगत गराउने लक्ष्य राखेको छ। साथै, विश्वभर रहेका नेपालीहरुलाई कोरिया र यहाँको नेपाली समुदायसँग सम्बन्धित सूचना, सन्देश एवं गतिविधिहरु सम्प्रेषण गर्ने उद्देश्य रहेको छ।
जर्नलले संगठनको कार्यनीति ‘समृद्ध नेपाल निर्माणको निम्ति प्रवासीहरुद्वारा वैधानिक विप्रेषण, प्रवासबाटै मताधिकार प्राप्ति र स्वदेशमा लगानी मैत्री वातावरण’लाई व्यवहारमा कार्यान्वयन गराउन भूमिका खेल्नेछ। साथै, पार्टी संगठनको नीति, विचार र कार्यक्रमलाई सम्पूर्ण नेपालीहरु माझ पुर्याउने लक्ष्य रहेको छ।
संगठनले यो जर्नललाई कोरिया स्थित आम नेपाली समुदायको साझा विचारको रुपमा विकास गर्ने लक्ष्य लिएको छ। यसै सन्दर्भमा, आगामी मार्च २३ तारिखका दिन हुने जर्नल विमोचन कार्यक्रममा दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीहरुलाई उपस्थितिका लागि आयोजकले आग्रह गरेको छ।






