पर्वत २२ फागुन : स्वदेशमा कुनै सम्भावना नदेखेर दैनिक हजारौको संख्यामा युवाहरु पलायन भैरहेको अवस्थामा पर्वतका दुई युवाले रु. दुई करोड भन्दा बढि लगानी गरेर स्केट पार्क संचालन गरेका छन् ।
सदरमुकाम कुश्माबजारको बञ्जि साईडमा सुविधा सम्पन्न पर्वत स्केट पार्क खोलिएको हो । लामो समयदेखि खेल क्षेत्रमा सक्रिय बनेका मोदी गाउँपालिकाका लक्ष्मण श्रेष्ठ र कुश्माका जगदीश सुवेदीले स्केट पार्क संचालनमा ल्याउनुभएको हो । दुवैजना भलिबलको राष्ट्रिय खेलाडीको रुपमा समेत सक्रिय रहँदै आउनुभएको छ ।

पछिल्लो समय बालबालिका तथा किशोर किशोरीहरुमा मोवाईल र सामाजिक सञ्जालतर्फको लत बढ्दै गएको र यो खेलतर्फ आकर्षण गर्न सकेमा उनिहरुको स्वास्थ्यमा समेत फाईदा पुग्ला भन्ने उद्धेश्यले स्केटपार्क संचालन गरिएको संचालक लक्ष्मण श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘धौलागिरि क्षेत्रमै नमुना स्केटपार्क संचालन गरेका छौ ।’
पर्वत भलिबल संघका अध्यक्ष रहेका श्रेष्ठ र उपाध्यक्ष रहेका सुवेदीले आफुहरु पनि खेल क्षेत्रमै लागेकाले नयाँ पुस्तालाई खेलकुदतर्फ आकर्षण गर्ने उद्धेश्यले ठुलो लगानी गरेर स्केटपार्क खोलिएको बताउनुभयो । स्केटपार्कमा सानो देखि ठुलो उमेरका मानिहरुले स्केटिङ्ग गरेर मज्जा लिन सक्ने भएका छन् ।
मोबाईल, टिभी लगायतका बस्तुहरुतर्फ बालबालिकाहरुको लत बढ्दा अभिभावकहरु समस्यामा पर्दैै आएका छन् । यसले कम्तीमा दिनको दुई/ तीन घण्टा मोवाईलवाट बाहिर राख्न सकिन्छ कि भन्ने हाम्रो उद्धेश्य हो संचालक सुवेदीले भन्नुभयो । उहाँले यसले स्वास्थ्य र कलात्मक प्रस्तुतीलाई बढावा दिनका लागि महत्वपुर्ण भूमिका खेल्ने संचालकहरुको विश्वास रहेको छ । पार्कमा एकैपटक ६० देखि ७० जना सम्मले स्केटिङ्ग गर्न सक्ने भएका छन् ।
स्केटिङ्ग पार्कको भोली शुक्रवार कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीमार्फत उद्घाटन गरेर नियमित संचालन गर्ने तयारी रहेको छ ।