विशेष ईपीएस–टोपिक परीक्षा आगामी जेठ १८ देखि सञ्चालन हुने

0
27

कमला केसी/दक्षिण कोरिया
नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत ईपीएस कोरिया शाखाले विशेष कोरियन भाषा परीक्षा सञ्चालन गर्ने भएको छ ।
वैधानिक रूपमा कोरियामा काम गरी फर्केका नेपाली नागरिकहरूलाई पुनः रोजगारीको अवसर प्रदान गर्न कोरियन मानव संसाधन विकास सेवा (HRD Korea)को समन्वयमा यो परीक्षा सञ्चालन हुन लागेको हो ।

ईपीएस–टोपिक परीक्षा आगामी जेठ १८ देखि २० गतेसम्म सञ्चालन हुनेछ। परीक्षाको लागि आवेदन दिन इच्छुक नेपाली नागरिकहरूले अनलाइन आवेदन फारम चैत्र १७ देखि १९ गतेसम्म भर्न सक्नेछन् । आवेदन प्रक्रियामा राहदानीको रंगीन फोटो अपलोड गर्नुपर्नेछ। आवेदन शुल्क अमेरिकी डलर २८ तोकिएको छ, जुन परीक्षार्थीहरूले आवेदन दर्ताका क्रममा बुझाउनुपर्नेछ ।
परीक्षा कम्प्युटर आधारित (CBT) हुनेछ, जसमा सुनाइ (Listening) र पढाइ (Reading) गरी दुई भागमा मूल्यांकन गरिनेछ। परीक्षामा ५० प्रश्न रहनेछन्, जसको पूर्णांक २०० हुनेछ। परीक्षाको नतिजा असार २९ गते सार्वजनिक गरिनेछ। परीक्षामा सहभागी हुन उमेर १८ देखि ३९ वर्षभित्रको हुनुपर्नेछ।

साथै, विगतमा कोरियाको ई-९ वा ई-१० भिसामा कार्यानुभव भएका तथा कानुनी रूपमा नेपाल फर्केका नेपाली नागरिकहरू मात्र आवेदन दिन योग्य हुनेछन्। परीक्षार्थीहरूले कोरियामा कुनै आपराधिक रेकर्ड नराखेको प्रमाणित गर्नुपर्नेछ। रंग पहिचान (color blindness) वा कुनै गम्भीर शारीरिक समस्या भएका व्यक्तिहरू परीक्षा दिन अयोग्य मानिनेछन्। परीक्षाको समयमा मोबाइल फोन, स्मार्टवाचलगायत विद्युतीय उपकरण लैजान अनुमति दिइने छैन। परीक्षा हलमा तोकिएको समयभन्दा एक घण्टा अगाडि उपस्थित हुनुपर्नेछ।

कुनै अनुचित गतिविधिमा संलग्न परीक्षार्थीको परीक्षा रद्द गरिनेछ र चार वर्षसम्म पुनः परीक्षा दिन रोक लगाइनेछ। यो परीक्षा विशेष गरी कोरियामा पुनः रोजगार चाहने नेपाली कामदारहरूलाई लक्षित गरी सञ्चालन गर्न लागिएको हो। इच्छुक आवेदकहरूले तोकिएको समयसीमाभित्र आवेदन दिन ईपीएस कोरिया शाखाले अनुरोध गरेको छ।

  

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्