कमला केसी/दक्षिण कोरिया
नेपाली गीतिमय नाटक अमर प्रेम दक्षिण कोरियामा पनि प्रदर्शन गरिने भएको छ । यो नाटक नेपाली समाजमा प्रेम र सांस्कृतिक विविधताको कथामा आधारित छ । खेलाड सेवा समाज, दक्षिण कोरियाको आयोजनामा गीतिमय नाटक ‘अमर प्रेम’ यहि माघ १५ अर्थात जनवरी २९ मा कोरियामा प्रदर्शन गर्न लागिएको हो । ख्याल सेवाका लागि आयोजना गरिएको यो नाटक विनोद बान्तावा राईको लेखन तथा निर्देशनमा तयार गरिएको हो ।
नाटकमा मीनु लामा, माइकस राई, ऋतु थापा मगर, आकाश राई, र कोरियाली कलाकार लगायतका मुख्य भूमिकामा छन् । साथै, नाटकमा नेपाली र कोरियाली संस्कृतिको संगम देख्न पाइनेछ ।
नाटकलाई थप मनोरञ्जनात्मक बनाउन सांगीतिक प्रस्तुति समेत समावेश गरिएको खेलाड सेवा समाजले जनाएको छ । प्रमुख गायक सबिन राईको विशेष प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण हुनेछ ।
कार्यक्रम कोरियन विश्वविद्यालय, मेट्रो लाइन नं. ६, अंयाङ एङ गेट नं. १मा गरिने तय भएको छ । नाटकमा विनोद खम्बुको संगीत, चन्दु गोर्खालीको एरेञ्ज, र राजु कार्कीको मिक्स/मास्टरिङ रहेको छ । विभिन्न कलाकारहरूले यस नाटकमा आफ्नो योगदान दिएका छन् ।
आयोजकले यो कार्यक्रम सबै नेपालीलाई एकजुट गराउने उद्देश्यले आयोजना गरिएको बताउँदै कोरियामा रहेका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहभागिताको लागि आग्रह गरेका छन् ।