ख्यङ्गी दो ख्वाङ्जुमा कोरियाव्यापी कविता प्रतियोगिता सम्पन्न

0
36

ख्वाङ्जु, दक्षिण कोरिया:
ख्यङ्गीदो प्रान्तको ख्वाङ्जुमा, ख्यङ्गी ख्वाङ्जु नेपाली एकता समाज दक्षिण कोरियाले अंग्रेजी नयाँ वर्षको अवसर पारेर गत आइतबार, २०२५ जनवरी १९ मा कोरियाव्यापी खुला नेपाली कविता प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ।
नेपाली भाषा तथा साहित्यको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा कोरियामा बसोबास गर्ने ३० नेपाली कविहरुले सहभागिता जनाएका थिए।


प्रतियोगितामा कवि विजयता भण्डारीको “पर्खाईको समय” शीर्षक कविता प्रथम भएको छ। कवि सरोज भण्डारीको “माटो हुने हौँ सब” कविता द्वितीय स्थानमा रहँदा, कवि डिइबी सिकारुको “खुलासा” तृतीय स्थानमा परेको छ। साथै, कवि मुक्ति न्यौपानेको “थकित योद्धा” र कवि राजेन्द्र संयोगीको “खबरदार” कविताहरु सान्त्वना पुरस्कारका लागि छनोट भएका थिए।
विजेता कविहरुलाई क्रमशः ३ लाख वन, २ लाख वन, १ लाख वन, ५० हजार वन र प्रमाणपत्रले सम्मान गरिएको थियो। कार्यक्रममा गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङ प्रमुख अतिथि रहेका थिए। निर्णायक मण्डलमा अग्रज कवि तथा समालोचक त्रय जीवन खत्री, मोहन कार्की र आर.एन. अधिकारी हुनुहुन्थ्यो। ख्यङ्गी ख्वाङ्जु नेपाली एकता समाजका अध्यक्ष नवराज भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोरियन कविहरु मुन छाङ्गिल, किम गुम्ने र इ गिजुको विशेष उपस्थिति रहेको थियो।
त्यस्तै, कोरियामा रहेका विभिन्न नेपाली संघ-संस्थाका प्रतिनिधिहरु पनि उपस्थित भएका थिए। कार्यक्रमका महासचिव ह्यारी बोण्डले सञ्चालन गर्नुभएको कार्यक्रममा हरि प्रसाद भट्टराई जेबी बैंक लोन, सेन्ट बि रेमिट, ड्रीम होराइजन टुर्स एण्ड ट्राभल, र स्वयम्भु रेस्टुरेन्टले मुख्य प्रायोजकको भूमिका निर्वाह गरेका थिए।
ख्यङ्गीदो ख्वाङ्जुको यो ऐतिहासिक प्रतियोगिताले परदेशमा रहेका नेपाली समुदायबीच साहित्यिक चेतना जगाउन थप योगदान दिने विश्वास गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्