आजदेखि अङ्ग्रेजी नयाँ वर्ष २०२५ शुरु, आजै राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदै

0
99

काठमाडौं : ग्रेगोरियन पात्रोअनुसार बुधबार नयाँ वर्ष इस्वी संवत् २०२५ शुरु भएको छ।

जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता छ। पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा. खिलानाथ बस्ताकोटी बताउँछन्।

यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन्। केही वर्षअघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी संवत् मनाउने गरिएको छ।

विदेशी पर्यटकको जमघट हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा ‘न्यू इयर इभ’ मनाइन्छ। मंगलबार बेलुकीदेखि नै राजधानीको ठमेल, बौद्ध, स्वयम्भू, नयाँ सडकलगायत क्षेत्रमा विशेष चहलपहल देखिएको छ।

यसैबीच अंग्रेजी नयाँ वर्ष सन् २०२५ को पहिलो दिन आज राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदैछ।

नेपाली टोपी र पोशाकको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रुपमा इस्वी संवतको नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो।

नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका, कस्मिर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ।

विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ।

तर, विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गर्छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्