प्रथम स्याङ्जा डबल ब्याडमिन्टन कप २०२४ भव्य रुपमा सम्पन्न

0
184

कमला केसी/दक्षिण कोरिया
स्याङ्जा परिवार दक्षिण कोरियाद्वारा आयोजित प्रथम स्याङ्जा डबल ब्याडमिन्टन कप २०२४ भव्य रूपमा सम्पन्न भएको छ । “शिक्षाको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद“ भन्ने मूल नाराका साथ डिसेम्बर २९, आइतबारका दिन नेपाल ब्याडमिन्टन कमिटी दक्षिण कोरियाको सहजिकरणमा यस प्रतियोगिता सम्पन्न गरिएको हो ।
प्रतियोगिताको उपाधि ए समुह तर्फ सुरज लवाती र सुर्य थुलुङ राईले हात पारेकाल छन् । यसैगरी सोबियात गुरुङ र बालकृष्ण केसी उपबिजेता बनेका छन् भने तेज आले र किरण भण्डारीले हात पारेका छन् ।
यसैगरी बि समुह तर्फको उपाधि स्वीकार राई र विबस राईले हात पारेका छन् भने उपविजेता नविन हाङ र दिपेन्द्र लावती बनेका छन् । त्यसैगरी तृतीय स्थान प्रेम लिम्बु र सुर्य थापाले हात पारेका छन् ।
यस्तै सि समुहको विजेता जीवन साही र मिलन राई बनेका छन् भने उपविजेताको उपाधि गणेश रसाइली र सन्देश राईले हात पार्दा तृतीय स्थानमा जीवन मगर र सुनहाङ लिम्बु पर्न सफल भएका थिए ।
विजेता टोलीलाई मेडल, प्रमाणपत्र, र ४ लाख कोरियन वन, उपविजेता टोलीलाई २ लाख ५० हजार कोरियन वन र तृतीय स्थान प्राप्त गर्ने टोलीलाई १ लाख ५० हजार कोरियन वन पुरस्कार प्रदान गरिएको थियो ।
दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच ब्याडमिन्टन खेलको प्रवद्र्धन गर्दै, खेलकुदमार्फत आपसी सद्भाव र भाइचारा सुदृढ बनाउनु, र गृह जिल्ला स्याङ्जाको शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउन अक्षय कोष स्थापनाका लागि कोष संकलन गर्न कार्यक्रम आयोजना गरिएको थियो ।
प्रतियोगितामा ४७ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताले नेपाली खेलकुद क्षेत्रमा लुकेका प्रतिभाहरूलाई उजागर गर्दै ब्याडमिन्टन खेललाई थप उचाइमा पुर्‍याएको आयोजकहरूले बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि एनआरएनए दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङले खेलकुदले नेपाली समुदायमा एकता, भाइचारा र मेलमिलापको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका थिए।
साथै, गण्डकी प्रदेश समाजका कोषाध्यक्ष श्रवण श्रेष्ठ, कास्की परिवारका अध्यक्ष सन्तोष पौडेल, पर्वत समाजका अध्यक्ष दीपक केसीलगायत विभिन्न संघ–संस्थाका अध्यक्ष र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सफल बनाउन अहोरात्र खटिने सम्पूर्ण आयोजक, स्वयंसेवक, तथा सहयोगदाताहरूप्रति आयोजक स्याङ्जा परिवार दक्षिण कोरियाले हार्दिक धन्यवाद व्यक्त गरेको छ। विशेष गरी कार्यक्रम संयोजक अरुण प्रताप खाँड, ब्याडमिन्टन कमिटीका अध्यक्ष ग्याल्जेन शेर्पा, सचिव खिम केसी, र अन्य सहयोगदाताहरूको योगदानको प्रशंसा गरिएको थियो ।
स्याङ्जा परिवारका अध्यक्ष सुशील गुरुङले प्रतियोगिताले दक्षिण कोरियामा नेपाली खेलकुद क्षेत्रलाई सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्