भिषा र कन्सुलर सेवालाई सर्वसुलभ बनाउन सोनसिकको माग

0
76

कमला केसी/दक्षिण कोरिया
नेपालमा रहेको कोरियन राजदूतावास मार्फत भिषा र कन्सुलर सेवाका लागि अनलाइन बुकिंग गर्दा सेवाग्राहीले निरन्तर समस्या झेल्नु परेको भन्दै दक्षिण कोरियामा सक्रिय नेपाली विद्यार्थी समाज सोनसिकले ध्यानाकर्षण गराएको छ ।

समाजले शुक्रवार विज्ञप्ति जारी गर्दै भिषा र कन्सुलर सेवालाई सर्वसुलभ बनाउन माग गरेको छ । कोरियन राजदूतावासको बुकिङ्ग सिस्टम नै ह्याक गरेको आरोपमा केही व्यक्तिहरू पक्राउ परेको समाचारहरू आएको भए तापनि मोटो रकम लिएर अनलाइन बुकिङ गरिदिने गतिविधिहरू निरन्तर भइरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै समाजले यस किसिमको गतिविधिले कोरिया आउन चाहने विद्यार्थी, लगायतका सेवाग्राहीहरू निकै मारमा परेको जनाएको छ ।

अनलाइनबाट निःशुल्क लिन सकिने सेवालाई कसैले व्यापार बनाएर विद्यार्थी तथा अन्य सेवाग्राहीलाई ठगि गर्ने जस्ता समस्याको दीर्घकालीन समाधानका लागि समाजले आग्रह गरेको छ । अनलाइन बुकिङ सम्बन्धि समस्या केही समय पहिले देखि नै आइरहेको थियो ।

पछिल्लो समय समाजको सम्पर्कमा आएकाहरुलाई राजदूतावास मार्फत विशेष अनुरोध गरी सहयोग गर्दै आएको विज्ञप्तिमा जनाईएको छ । यो समस्या सबैको साझा समस्या भएकोले समस्याको दीर्घकालीन समाधान खोजिनुपर्ने भन्दै समाजको ध्यानाकर्षण पछि सियोल मेट्रोपोलिटन प्रहरीको बैदेशिक मामिला शाखा तथा कोरिया स्थित सरकारी निकाय अनुसन्धानलाई अगाडि बढाउन ईच्छुक देखिएको उल्लेख गरिएको छ । यस्तो कार्यको आवश्यक अनुसन्धानलाई सहयोग पु¥याउन समेत समाजले आग्रह गरेको छ ।

निःशुल्क र सुरक्षित रूपमा पाउनु पर्ने सेवाका लागि मोलतोल गर्ने गतिबिधि सरासर अबैधानिक धन्दा भएको हुँदा यस किसिमका गतिविधिहरूमा नफस्नका लागि समाजले सम्वन्धित सेवाग्राहीलाई अनुरोध समेत गरेको छ ।

कोरिया आउन इच्छुक नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले अनलाईन बुकिङ गर्दा यदि कसैले पैसाको माग गरेको छ अथवा पैसा लिएर अनलाइन बुकिङ गरिदिएको छ भने बुकिङ गर्ने प्रक्रियामा आफुले गरेको अनुभवको आधारमा त्यस सम्बन्धि अनलाइन फारम मार्फत बिवरणहरु उपलब्ध गराएर अनुसन्धानलाई सहयोग गर्न पनि आग्रह गरेको छ । त्यस्ता सेवाग्राहीको गोपनीयता र व्यक्तिगत जानकारीहरू पूर्ण रुपमा सुरक्षित र गोप्य राखिने समेत समाजले जनाएको छ ।

अनलाईन फारामको लागि लिंक: https://forms.gle/gpxCryrQ1TH1X6c66

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्