पर्वत- जिल्लाको मोदी गाउँपालिकामा आर्थिक बर्ष २०८०/०८१ को अर्धबार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । मोदी गाउँपालिकाको आयोजना र संचारिका समुह पर्वतको समन्वयमा उक्त कार्यक्रम आज गाउँपालिकाको प्राङ्गणमा सम्पन्न भएको हो ।
सुशासन, पारदर्शिता र जवाफदेहितालाई जोड दिदै गाउँपालिकाले प्रवाह गर्ने सेवाप्रति नागरिकको गुनासो सुनुवाइ गरि सम्बोधन गर्ने र प्राप्त सुझाबलाई आत्मसात गर्दै विकासका काम गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले बताउनुभयो । सबैको साथ सहयोग, सल्लाह, सुझाव र खबरदारीबाटै समृद्ध मोदी बन्ने भएकाले प्राप्त सुझावलाई मनन गर्दै गुणस्तरीय र दिगो विकासमा जोड दिएको उहाँले बताउनुभयो ।
गाउँपालिकाको विकासका लागि जनचाहना अनुसार आवश्यकता र औचित्यका आधारमा काम गरिएको गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछानेले बताउनुभयो । विकास निर्माणका कार्यमा सबैले चासो दिनुपर्ने बताउदै पालिकाको विकासमा सकारात्मक साथ सहयोग प्रदान गर्नुपर्ने उहाँले बताउनुभयो ।
गाउँपालिकाबाट आर्थिक बर्ष २०८०/०८१ मा हालसम्म विभिन्न १ सय ४४ वटा योजनाहरु सम्झौता भएको र २४ वटा योजना फरफारक भएको प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माले जानकारी गराउनुभयो । आर्थिक बर्ष २०८०/०८१ को चालू र पुंजीगत कुल बजेट ६३ करोड २८ लाख २७ हजार मध्ये फागुन २७ गतेसम्म ३५. ९५ प्रतिशत बजेट खर्च भएको उहाँले बताउनुभयो । सुशासन र पारदर्शितालाई जोड दिदै नागरिकलाई गुणस्तरीय र प्रभावकारी सेवा प्रवाहमा जोड दिएको शर्माले बताउनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र मोदीका अध्यक्ष कृष्ण सुवेदी, नेपाल समाजवादीका देवी लामिछाने र नागरिक स्तरबाट कृष्ण कार्की, टिकादेवी मल्ल, राजिन ढंगाना, राजेन्द्रजंङ लामिछाने, राजेन्द्र तिमिल्सिना, सुर्य बहादुर कुँवर, गणेश सुवेदी, दिनेश पुन लगायतले गुनासो, प्रश्न तथा सुझाव राख्नुभएको थियो । सार्वजनिक सुनुवाइमा विशेष गरि योजनाको गुणस्तरीयता र पारदर्शिता, सहभागीतामुलक विकास, शिक्षा, स्वास्थ्य,सडक, कृषि, खानेपानी तथा जनजिविकाका विषयमा नागरिकले गुनासो तथा प्रश्न सोधेका थिए ।
त्यस्तै मोदी र रतीखोला संरक्षण गर्नुपर्ने, कालोबजारी रोक्न नियमित बजार अनुगमन गर्नुपर्ने, आवश्यकता र औचित्यपूर्ण ढंगले वडामा काम गर्नुपर्ने लगायतका सुझाव नागरिकहरूले दिएका थिए । नागरिक स्तरबाट आएका गुनासोहरुको गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले सम्बोधन गर्नुभएको थियोे । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी,सरोकारवाला व्यक्तिहरु लगायतको उपस्थिति रहेको थियो।
गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माको अध्यक्षता, उपाध्यक्ष बिमल लामिछानेको स्वागत मन्तव्य र कार्यक्रमको संचालन संचारिका समुह पर्वतका अध्यक्ष बिष्णु गौतमले गर्नुभएको थियो।