दक्षिण कोरिया । नेपालमा पछिल्लो समय आएको विनाशकारी बाढी तथा पहिरोका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले आयोजना गर्न लागेको ‘सुपा देउराली तीज कार्यक्रम–भाग ३’ स्थगित गर्ने निर्णय गरेको छ।
मञ्चले जारी गरेको विज्ञप्तिमा देशका विभिन्न स्थानमा बाढी–पहिरोका कारण धेरै परिवार प्रभावित हुनुका साथै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू दुःख र पीडामा रहेको संवेदनशील अवस्थामा उत्सव तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्नु उपयुक्त नहुने निष्कर्षसहित कार्यक्रम स्थगित गरिएको जनाएको छ।
मञ्चले विपद्को यस दुःखद् घडीमा विपद् प्रभावित परिवारप्रति ऐक्यबद्धता, सहानुभूति र मानवीय संवेदना प्रकट गर्नु आफ्नो प्रमुख दायित्व भएको उल्लेख गरेको छ। साथै, प्रभावितहरूका लागि राहत तथा सहयोग गर्न सबैलाई आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न आग्रह गरेको छ।
बाढी तथा पहिरोमा परी ज्यान गुमाएका सम्पूर्णप्रति मञ्चले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। घाइते तथा प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनःस्थापनाको समेत कामना गरिएको छ।
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले यसअघि पनि प्रवासमा नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा सामाजिक सेवाका विभिन्न गतिविधि गर्दै आएको छ।
विज्ञप्तिमा अध्यक्ष मनोज पौडेल र सचिव सन्तु खनालको हस्ताक्षर रहेको छ।






