दक्षिण कोरियामा बसोबास गर्दै आएका किरात समुदायले साकेला उभौली २०२६ (यलेदोङ ५०८६) पर्व मनाउने कार्यक्रम तालिका सार्वजनिक गरेका छन्। किरातहरूको महत्वपूर्ण सांस्कृतिक पर्व साकेला उभौली विभिन्न शहर तथा शाखाहरू मार्फत भव्य रूपमा मनाइने तयारी गरिएको हो।
सार्वजनिक गरिएको तालिका अनुसार मे ३ तारिखका दिन किरात राई यायोक्खा जेजु शाखाले कार्यक्रम आयोजना गर्नेछ भने मे १० मा इक्सान शाखाले साकेला उभौली मनाउनेछ। त्यसैगरी मे १७ मा बुसान शाखाले कार्यक्रम गर्नेछ।
केन्द्रिय रूपमा मे २४ मा किरात राई यायोक्खा केन्द्रीय समितिले मुख्य साकेला कार्यक्रम आयोजना गर्ने जनाएको छ। यसै क्रममा मे ३१ मा गजेदो शाखाले पनि साकेला उभौली पर्व मनाउने कार्यक्रम तय गरिएको छ।
साकेला उभौली किरात समुदायको मौलिक पर्व हो, जसमा प्रकृतिको पूजा, उभौली नाच तथा सांस्कृतिक झाँकी प्रस्तुत गरिन्छ। दक्षिण कोरियामा रहेका नेपाली किरात समुदायले आफ्नो भाषा, संस्कृति र पहिचान जोगाउने उद्देश्यले हरेक वर्ष यो पर्व उत्साहका साथ मनाउँदै आएका छन्।






