प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा पर्न सफल भएका छन्। प्रतिष्ठित अन्तर्राष्ट्रिय म्यागेजिन टाइमले सार्वजनिक गरेको सन् २०२६ को सूचीमा उनको नाम समावेश गरिएको हो।
टाइमले हरेक वर्ष विश्वभरका नेता, कलाकार, नवप्रवर्तक तथा प्रभावशाली व्यक्तित्वहरूलाई विभिन्न समूहमा विभाजन गरी सूची सार्वजनिक गर्दै आएको छ। यस वर्ष प्रभावशाली नेताहरूको समूहमा प्रधानमन्त्री बालेन १४औँ स्थानमा परेका छन्।
उक्त सूचीमा पहिलो स्थानमा पोप लियो रहेका छन् भने दोस्रो स्थानमा मेक्सिकोकी प्रधानमन्त्री क्लाउडिया शेइनबउम छन्। अमेरिकी विदेशमन्त्री मार्को रूबिओ तेस्रो र राष्ट्रपति डोनाल्ड ट्रम्प चौथो स्थानमा छन्। त्यसैगरी, क्यानडाका प्रधानमन्त्री मार्क कार्नी पाँचौँ, न्युयोर्कका मेयर जोहरन ममदानी छैटौँ, चिनियाँ राष्ट्रपति सी चिनफिङ सातौँ, जापानकी प्रधानमन्त्री सनइ तकाइची आठौँ, इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू नवौँ र नामिबियाकी राष्ट्रपति नेतुम्बो नन्दी नदैतवाह दशौँ स्थानमा रहेका छन्।
एघारौँ स्थानमा मध्यपूर्वका लागि अमेरिकी दूत स्टिभ विटकोफ, बाह्रौँमा क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसम, तेह्रौँमा स्पेसएक्सकी प्रमुख ग्वाइन शटवेल र चौधौँमा प्रधानमन्त्री बालेन शाह रहेका छन्। प्रभावशाली नेताहरूको सूचीमा कुल २४ जना समावेश छन्।
टाइमले बालेनलाई हिप–हप कलाकारबाट उदाएका राजनीतिक नेतृत्वका रूपमा चित्रण गरेको छ। भ्रष्टाचार र पुरानो राजनीतिक संरचनाप्रति असन्तुष्ट युवा पुस्ताको समर्थनले उनलाई सत्तासम्म पुर्याएको उल्लेख गरिएको छ।
उनको उदयलाई ‘युवा विद्रोह’को रूपमा हेरिएको छ, जसले परम्परागत शक्ति संरचनामा तरंग ल्याएको पत्रिकाले जनाएको छ। मेयर रहँदा उनले फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन प्रशासनिक जटिलता तोड्ने प्रयास गरेको भन्दै प्रशंसा गरिएको छ।
तर, स्थानीय तहमा प्राप्त सफलता राष्ट्रिय स्तरमा दोहोर्याउने विषयमा चुनौती अझै बाँकी रहेको पनि उल्लेख गरिएको छ।
अन्त्यमा टाइमले लेखेको छ “नेपाली जनताले उनले आफ्नै भनाइ गलत साबित गर्ने अपेक्षा राखेका छन्।”






