दक्षिण कोरियामा क्रियाशील नेपाल मुक्तक प्रतिष्ठानको सातौँ वार्षिक साधारणसभा, नववर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
मिति २०२६ अप्रिल १२ तारिखका दिन भर्चुअल माध्यम ‘जुम’ मार्फत आयोजित उक्त कार्यक्रम प्रतिष्ठानका अध्यक्ष श्री निर्दोष शिवको अध्यक्षता तथा केन्द्रका अध्यक्ष श्री रामकाजी कोनेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रमको खुला सत्रअन्तर्गत प्रमुख अतिथि रामकाजी कोनेले उद्घाटन गर्नुभएको थियो। सो अवसरमा संस्थाका संरक्षक, सल्लाहकार, पदाधिकारी तथा सक्रिय सदस्यहरूले नववर्ष २०८३ सालको शुभकामना आदानप्रदान गर्दै आफ्ना रचनाहरू वाचन गरेका थिए। महासचिवद्वारा वार्षिक प्रगति प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो।
त्यसैगरी, बन्दसत्रअन्तर्गत कोषाध्यक्षद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत भई पारित गरिएको थियो भने वार्षिक प्रगति प्रतिवेदनसमेत सर्वसम्मत रूपमा अनुमोदन गरिएको थियो।
विधानसत्रतर्फ, विधान संशोधन समितिद्वारा संशोधित विधानमाथि विस्तृत छलफल गरिएको थियो। समितिका संयोजक रामचन्द्र शर्माको अनुमतिमा सदस्य दीपकले संशोधित विधानका सम्पूर्ण परिच्छेद, दफा तथा अनुसूचीहरू पढेर सुनाएका थिए। त्यसपछि सभाको गणपूरक संख्याले उक्त संशोधित विधानलाई पारित गर्दै कार्यसमितिलाई हस्तान्तरण गरिएको जनाइएको छ।
उक्त कार्यक्रममा श्री रामकाजी कोने, श्री निर्दोष शिव, श्री रामचन्द्र शर्मा, श्री विदुर शर्मा, श्री विष्णु वाग्ले, श्री जीवन खत्री, श्री ह्यारी वोण्ड, श्री दीपक, श्री जीवन भण्डारी, श्री आर.पी.सी. संगम, श्री दुर्गा तिवारी, श्री रुद्र कँणेल, श्री राजेश सुबेदी, श्री रुशन सुबेदी तथा श्री किरण गितारको उपस्थिति रहेको थियो।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा सहभागी सबैले खुशी व्यक्त गर्दै आगामी दिनहरूमा संस्थालाई अझ सशक्त र सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।






