उपचारका लागि व्यापक सहयोगपछि कप्तान साबित्रा भण्डारी ‘साम्बा’ ले सहयोग रकम रोक्न आग्रह

0
63

 नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान Sabitra Bhandari ‘साम्बा’ ले आफ्नो उपचारका लागि देश–विदेशबाट प्राप्त अभूतपूर्व सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै अब सहयोग रकम रोक्न आग्रह गरेकी छन्। पछिल्लो २४ घण्टामा प्राप्त साथ, विश्वास र मायाले आफूलाई मानसिक रूपमा अझ बलियो बनाएको उनले बताएकी छन्।

उनका अनुसार, उपचारका लागि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी तथा विदेशी प्लेटफर्ममार्फत करिब ४५ लाख नेपाली रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) संकलन भइसकेको छ। विभिन्न संघ–संस्था र प्रायोजकहरूले समेत नगद तथा सुविधा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। कतारमा उपचारका क्रममा आवश्यक पर्ने आवास र यातायात व्यवस्थामा पनि त्यहाँस्थित व्यक्ति र संस्थाहरूले सहयोग गर्ने बताएका छन्।

उपचार खर्च पर्याप्त रूपमा जुटिसकेको उल्लेख गर्दै उनले आजैदेखि दुवै खातामा सहयोग रकम जम्मा नगर्न अनुरोध गरेकी छन्।

साबित्रा आवद्ध क्लब Wellington Phoenix ले पनि शल्यक्रिया र पुनर्स्थापनाका लागि बीमा रकम निकासा गरी थप सहयोग गर्दै उपचार प्रक्रिया सहजीकरण गरिरहेको जनाएको छ। छिट्टै शल्यक्रियाको मिति तय भएर प्रक्रिया अघि बढ्नेमा उनी विश्वस्त छिन्।

चोटका कारण शारीरिक मात्र होइन, मानसिक रूपमा पनि प्रभावित भएको उल्लेख गर्दै उनले समर्थकहरूको साथले पुनः उठ्ने साहस मिलेको बताइन्। “म फर्कनेछु, अझ मजबुत भएर फर्कनेछु,” उनले भनिन्, “फेरि नेपालको जर्सी लगाएर देशका लागि मैदानमा उत्रिनेछु।”

उनले समर्थकहरूको साँचो धन्यवाद आफ्नो सफल पुनरागमनमार्फत व्यक्त गर्ने प्रतिबद्धता जनाएकी छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्