पर्वत- पर्वतको फलेवास नगरपाकिा वडा नं.५ खानीगाउँमा १५ दिने मिनिटेलर मर्मत तालिम शुरु भएको छ । फलेवास नगरपालिकाका किसानहरुलाई लक्षित गरेर उक्त तालिम आयोजना गरिएको हो । तालिममा २० जना युवा किसानहरुको सहभागिता रहेको छ ।
व्यवसायिक तथा सीप विकास तालीम केन्द्र कुश्मा पर्वतको आ.व ०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तालिम आयोजना गरिएको हो । ग्रामीण क्षेत्रमा वितरण भएका यान्त्रिक हलोको मर्मत गर्नका लागि दक्ष प्राविधिक बनाउन यो तालिम आयोजना गरिएको व्यवसायिक तथा सीप विकास तालीम केन्द्रका प्रमुख मोहनचन्द्र सुवेदीले बताउनु भयो । तालिममा अन्य प्राविधिक ज्ञान र उर्जा सम्बन्धी जानकारीसमेत दिने लक्ष्य राखिएको छ ।
तालिमको फलेवास नगरपालिकाकी उपमेयर शोभाकुमारी क्षेत्रीले उद्घाटन गदै व्यवसायिक किसानलाई दक्ष बनाउन तालिमले सहयोग पुग्ने बताउनु भयो । हरेक वर्ष वितरण भएका हलो सदुपयोग गर्दै राज्यको अनुदानको सुरक्षा गर्न तालिमले सघाउने उहाँको भनाई छ । उपमेयर क्षेत्रीले विगतमा कृषि क्षेत्रमा दिने अनुदान वास्तविक किसानले नपाएको भन्दै उत्पादन गर्ने किसानलाई प्राथमिकतामा राखेर अनुदान दिन थालेको बताउनु भयो । उहाँले गाउँमा गोरु पाल्ने प्रचलन हराउँदै गएको र गाउँगाउँमा मिनिटेलरको माग बढ्दै गएको बताउँदै यस्ता तालिम चलाएर वडा वडामा प्राविधिक बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा फलेवास नगरपालिका वडा नं ८ का वडा अध्यक्ष मानवहादुर कुवँर, फलेवास नगर स्तरिय कृषि सञ्जालका अध्यक्ष विनोद भुषाल लगायतले मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रमको संचालन फलेवास नगरपालिका कृषि शाखा प्रमुख केदार सापकोटाले गर्नुभएको थियो ।उक्त तालिमको सहजीकरण प्रशिक्षक विकास श्रेष्ठले गर्नुहुनेछ ।