दक्षिण कोरियामा नेपाली विद्यार्थी रोशन बहादुर पख्रिनको मृत्यु प्रकरणमा आर्थिक सहयोग संकलन रोकियो छ

0
130

दक्षिण कोरिया — गत नोभेम्बर 7 मा आत्महत्याको प्रयासपछि गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएका दक्षिण कोरियाको दोङ–ए विश्वविद्यालय, बुसानमा अध्ययनरत नेपाली विद्यार्थी रोशन बहादुर पख्रिनको उपचारको क्रममा नोभेम्बर 10 का दिन मृत्यु भएको पुष्टि भएको थियो।

उपचार खर्च तथा मृतकको शव नेपाल पठाउन लाग्ने खर्च वहन गर्न परिवार असमर्थ भएपछि नेपाल विद्यार्थी समाज दक्षिण कोरियाले विभिन्न संघ–संस्था, व्यक्तित्व र सञ्चारकर्मीहरूको सहकार्यमा आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेको थियो।

विद्यार्थी समाजका अनुसार सुरुमा सार्वजनिक गरिएको अनुमानित लागत १ करोड ४० लाख कोरियन वोन रहेको थियो। व्यापक सहयोगका कारण आवश्यक रकमभन्दा केही बढी, १ करोड ८१ लाख ७६ हजार ३२२ कोरियन वोन संकलन भएको समाजले जानकारी दिएको छ।

समाजले प्राप्त रकमको सदुपयोग र पारदर्शितालाई प्राथमिकता दिँदै दैनिक रूपमा आफ्नो अफिसियल पेजमार्फत सम्पूर्ण विवरण सार्वजनिक गर्दै आएको छ। उपचार तथा अन्य खर्च कट्टीपछि बाँकी रहेको रकम मृतकका परिवारलाई नै हस्तान्तरण गर्ने निर्णयसमेत समाजले जनाएको छ। हाल उक्त रकम हस्तान्तरणका लागि परिवारका सदस्यहरूसँग समन्वय भइरहेको छ।

यस अभियानमा सहयोग पुर्‍याउने सबैलाई समाजले विशेष आभार व्यक्त गरेको छ। विशेषगरी तामाङ समाज दक्षिण कोरिया, एनआरएनए दक्षिण कोरिया, विभिन्न विश्वविद्यालयका विद्यार्थी क्लबहरू, तथा अभियानलाई निरन्तर साथ दिने सञ्चारकर्मीहरू प्रति समाजले कृतज्ञता व्यक्त गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्