एनआरएनए दक्षिण कोरियामा आन्तरिक विवाद : महासचिव सोडारी पदमुक्त, दुई पक्षबीच आरोप–प्रत्यारोप

0
117
Screenshot

दक्षिण कोरिया गैर–आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाभित्र आन्तरिक विवाद तीव्र बनेको छ। संघका अध्यक्ष विपिन कुमार गुरुङले महासचिव अजय सोजीरी (पूर्ण बहादुर बुढा) लाई संगठनको आचारसंहिता उल्लङ्घन र अनुशासनविपरीत गतिविधिमा संलग्न भएको आरोप लगाउँदै पदबाट बर्खास्त गरेको जानकारी एक औपचारिक विज्ञप्तिमार्फत दिएका छन्।

अध्यक्ष गुरुङद्वारा २०२५ अक्टोबर १९ मा जारी विज्ञप्तिमा सोडारीले सामाजिक सञ्जाल र विभिन्न माध्यमहरूमा संगठनको छविमा आँच पुग्ने गरी सार्वजनिक अभिव्यक्ति दिएको र यससम्बन्धी स्पष्टिकरण माग्दा पनि समयमा जवाफ नआएको उल्लेख छ।

संघको विधानको धारा १८ र १४(४) बमोजिम अनुशासनात्मक प्रक्रिया अघि बढाइएकाले सोडारीलाई महासचिवको जिम्मेवारीबाट हटाइएको अध्यक्ष गुरुङले स्पष्ट गरेका छन्।
उनको भनाइअनुसार,
“संगठनको प्रतिष्ठा, एकता र अनुशासन कायम राख्ने उद्देश्यले गरिएको यो निर्णय संस्थाको विश्वास र गौरव जोगाउनेतर्फ केन्द्रित छ।”

तर, महासचिव सोडारीले उक्त निर्णय अस्वीकार गर्दै अर्को विज्ञप्ति मार्फत आफूविरुद्ध भएको कारबाहीलाई “एकतर्फी र व्यक्तिगत स्वार्थले प्रेरित” भएको दाबी गरेका छन्।

उनले आफूविरुद्ध लगाइएका आरोपहरू निराधार रहेको बताउँदै अध्यक्ष गुरुङमाथि “लोकतान्त्रिक अभ्यास दबाउने प्रयास” गरेको आरोप समेत लगाएका छन्। सोडारीले आफ्नो विज्ञप्तिमा लेखेका छन्,

“मैले कहिल्यै संगठनको मर्यादा उल्लङ्घन गरेको छैन। अध्यक्ष गुरुङले नियमविपरीत निर्णय गरेर संघभित्र विभाजन ल्याउने काम गर्नुभएको छ।”
उनले उक्त निर्णय र आरोपको विषयमा स्पष्टता माग्दै एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (NRNA-ICC) समक्ष न्यायिक कदम चालिने बताएका छन्।

दुवै पक्षका विज्ञप्तिहरू सार्वजनिक भएपछि एनआरएनए दक्षिण कोरियाको वर्तमान नेतृत्वभित्र मतभेद खुलेर सतहमा आएको छ।
एक पक्षले संगठनको अनुशासन र नियमपालनलाई जोड दिइरहेको छ भने अर्को पक्षले संगठनभित्र पारदर्शिता र लोकतान्त्रिक अभ्यासको संरक्षणको माग गरिरहेको छ।

संगठनका आगामी गतिविधि र निर्णयमा यो विवादको प्रत्यक्ष असर पर्ने अनुमान गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्