पर्वत ५ फागुन ः पर्वतको फलेवास नगरपालिका वडा नं. ५ खानीगाउँ स्थित चितिपानीमा रहेको ध्रुवनमुना माविलाई आवासीय विद्यालयको रुपमा संचालन गरिने भएको छ ।
आगामी शैक्षिक सत्रदेखि बाल कक्षा देखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई आवासीय सुविधा दिन थालिएको हो । विद्यालयमा गत माघ २५ गते भएको अभिभावक भेलाले विद्यालयवाट गुणस्तरीय र प्रभावकारी शिक्षा दिनका लागि आवासीय बनाएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको थियो । लगत्तै फागुना २ गतेको विद्यालय व्यवस्थापन समितिको बैठकले आगामी शैक्षिक सत्र २०८१ बाट वाल कक्षा देखी कक्षा १० सम्म यातायातको सुविधा सहित आवासीय विद्यालयको रुपमा सञ्चालन गर्ने निणर्य गरेको छ ।

विद्यालयमा असहाय, अनाथ, टुहुरा, विपन्न, गरीव तथा जेहेन्दार विद्यार्थीहरु एवम् अन्य इच्छुक बालबालिकाहरूलाई निशुल्क आवास साथै खाना, पोषाक र स्टेशनरी सुविधा समेत दिएर आवासीय बनाउन थालिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार जतिसुकै संख्यामा विद्यार्थीहरु भर्ना हुन आएपनि आवासीय सुविधा उपलव्ध गराईने भएको छ ।
विद्यालयमा विद्यार्थीको संख्या घट्दै जान थालेपछि विद्यालयले यस्तो जुक्ति निकालेको हो । प्रत्येक वर्ष विद्यार्थीको संख्या घट्दै जान थालेको छ अध्यक्ष पौडेलले भन्नुभयो-‘विद्यालयमा विद्यार्थीको आकर्षण बढाउनका लागि आवासीय सुविधाको योजना ल्याएका हौँ ।’ मावि तह संचालन भएको यो विद्यालयमा अहिले झण्डै ४० जना विद्यार्थी रहेका छन् ।
विभिन्न अवसरको खोजीमा युवा पुस्ताले गाउँ छाडेपछि विद्यालयमा विद्यार्थीको संख्या न्यून बनेको स्थानीय जनप्रतिनिधि गिरीराज शर्माले बताउनुभयो । निजि विद्यालय जस्तै अंग्रेजी माध्यममा कक्षा संचालन गर्ने, शिक्षकहरुको क्षमता विकास गर्ने, अभिभावक र विद्यार्थीलाईपनि जिम्मेवार बनाउनका लागि आवासीय विद्यालयको अवधारणा ल्याईएको उहाँको भनाई छ ।
आगामी शैक्षिक सत्रदेखि बाल कक्षा देखि कक्षा १० सम्मनै भर्ना हने नयाँ वा पुराना विद्यार्थीलाई आवासिय सुविधा दिईने भएको छ । विद्यालयले दक्ष र अनुभवी शिक्षकहरुबाट अध्यापन गराउने, सम्पूणर् विद्यार्थीहरुलाई पोशाक, शैक्षिक सामाग्री र खाना खाजाको व्यवस्था समेत निःशुलक गर्ने प्रद्यानाध्यापक झलक शर्मा पौडेलले बताउनुभयो । उहाँका अनुसार खेलकुद सामाग्री र स्वच्छ खानेपानीको व्यवस्था समेत हुने छ ।

विद्यार्थीहरुलाई साप्ताहिक रूपमा अतिरिक्त क्रियाकलापको व्यवस्था गर्ने, कक्षा ६ देखि १० सम्म कम्प्युटर विज्ञानको कक्षा समेत संचालन गर्दै आइएको छ । यहाँ विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याव र पुस्तकालयको समेत व्यवस्था रहेको उहाँले बताउनुभयो ।
आर्थिक अभावले विद्यालय शिक्षाबाट बञ्चित बनेका नेपाल अधिराज्य भित्रका जुनसुकै जिल्लाका असहाय, अनाथ, टुहुरा, विपन्न, गरीव तथा जेहेन्दार विद्यार्थीले यो विद्यालयमा आएर अध्ययन गर्न सक्ने प्रअ पौडेलले जानकारी दिनुभयो । सवै सुविधा निःशुल्क हुने भएकाले पढाईवाट बञ्चित बालबालिकाहरुलाई अभिभावकहरुले सहजीकरण गरेर विद्यालयसम्म ल्याउनेमा आफुहरु विश्वस्त रहेको प्रअ पौडेलले बताउनुभयो ।
आवासीय सुविधा संचालनका लागि फलेवास नगरपालिका लगायत विभिन्न सरोकारवाला पक्षसँग श्रोतको खोजी समेत भैरहेको विद्यालयले जनाएको छ । यस अघि पर्वतको महाशिला गाउँपालिका दुई सामुदायिक विद्यालयमा पुणर्कालीन वा आंशिक आवासीय सुविधा दिएर संचालन गरिएको छ ।