कमला केसी/दक्षिण कोरिया
फुटवल खेलको विकास र युवा खेलाडीहरुको हितमा काम गर्नेगरी चारवटा संस्थाबीच समझदारी भएको छ । ग्लोबल एनआरएन फाउन्डेसन, कोरियाको ग्योङसान फुटबल संघ तथा अन्तर्राष्ट्रिय पर्वत सेवा समाज र नेपाल स्पोर्ट्स रिसर्च एण्ड प्रमोसन फाउन्डेसन कोरिया च्याप्टर बिच समदारीपत्रमा हस्ताक्षर भएको हो ।
अन्तर्राष्ट्रिय स्तरमा नेपालका युवा खेलाडीको वृत्ति विकासको लागि आर्थिक, भौतिक, नैतिक सहयोग र सहकार्य गर्ने उद्धेश्यले यी संस्थाबीच सम्झौता भएको हो ।
यस सम्झौताले अन्तर्राष्ट्रिय पर्वत समाजले खेल क्षेत्रमा कार्य गर्ने भनि गरेको प्रथम बैठकको निणर्यलाइ कार्यावन्यन गर्न थप मद्दत पुगेको अन्तर्राष्ट्रिय पर्वत समाजका उपाध्यक्ष संगीता कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार यस समझदारी संगै क्षमतावान पर्वते खेलाडीहरुलाई समेत अन्तर्राष्ट्रिय स्तरमा खेल्ने अवसरको साथै सामाजिक क्षेत्रमा संस्थाको उपस्थिति पनि बलियो देखिने भएको छ ।
सम्झौता पत्रमा अन्तर्राष्ट्रिय पर्वत समाजका उपाध्यक्ष संगीता कार्की ग्लोबल एनआरएन फाउन्डेसनको तर्फबाट फाउन्डेसनका अध्यक्ष विनोद कुँवर र कोरिया ग्योङसान फुटबल संघको तर्फबाट संघका उपाध्यक्ष काङ योङ-होले र नेपाल स्पोर्ट्स रिसर्च एण्ड प्रमोसन फाउन्डेसन कोरिया च्याप्टरका अध्यक्ष डा.केशव थापाले हस्ताक्षर गर्नुभएको छ ।
यो सम्झौता सँगै आगामी दिनमा खेल क्षेत्रको विकास र अन्य सामाजिक क्षेत्रमा विभिन्न कामहरु गर्दै जाने उल्लेख गरिएको छ ।