“संगठित समूह नै परदेशको सहारा हो” भन्ने मूल नाराका साथ स्थापित कास्की परिवार दक्षिण कोरियाले आफ्नो नवौं केन्द्रीय अधिवेशन यही सेप्टेम्बर २८ तारिख सउलस्थित एक सभाहलमा आयोजना गर्ने भएको छ। सभाहलको स्थान भने चाँडै सार्वजनिक गरिने जनाएको छ।
दक्षिण कोरियामा विभिन्न पेशा तथा व्यवसायमा आवद्ध कास्केली तथा नेपालीबीच आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिवृद्धि गर्दै आएको कास्की परिवारले यसअघि सम्पन्न आठौं कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा गरेको छ। अब नयाँ कार्यसमिति चयन गर्नुपर्ने आवश्यकता अनुसार अधिवेशन आयोजना गर्न लागिएको अध्यक्ष सन्तोष पौडेलले जानकारी दिए।
सन् २००८ मा स्थापना भएको कास्की परिवारले कोरियाभर दुई शाखा — ख्यङ्साङ्नाम्दो र थेगु — विस्तार गरिसकेको छ। संस्थाका महासचिव अशोक कुमार थापाका अनुसार नवौं अधिवेशनलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी तीव्र पारिएको छ।
आगामी अधिवेशनमा दक्षिण कोरियामा रहेका सम्पूर्ण संघसंस्था, कास्की परिवारका सल्लाहकार, बुद्धिजीवी, शुभचिन्तक र समस्त सदस्यहरूलाई गरिमामय उपस्थितिका लागि आयोजकले हार्दिक अनुरोध गरेको छ।






