“पाँचौँ स्याङ्जा भलिबल कप २०२५” को उपाधि सुदूरपश्चिम समाज दक्षिण कोरियालाई

0
156

दक्षिण कोरियाको आजु युनिभर्सिटीको खेल मैदानमा आइतबार सम्पन्न “पाँचौँ स्याङ्जा भलिबल कप २०२५” को उपाधि सुदूरपश्चिम समाज दक्षिण कोरियाले जितेको छ।

प्रतिस्पर्धात्मक रुपमा सम्पन्न फाइनल खेलमा सदाबहार विजेता बाग्लुङ समाज दक्षिण कोरियालाई २–१ सेटमा पराजित गर्दै सुदूरपश्चिम समाजले पहिलो पटक उपाधि उचाल्न सफल भएको हो। पहिलो सेट २७–२५ को झिनो अन्तरले जितेको सुदूरपश्चिमले दोस्रो सेट २३–२५ मा गुमाएको थियो। तर अन्तिम तथा निर्णायक तेस्रो सेटमा २५–२० को स्पष्ट जित निकाल्दै सुदूरपश्चिम समाजले ऐतिहासिक पहिलो विजय हासिल गर्‍यो।

विजेता टोली सुदूरपश्चिम समाजले उपाधिसँगै २० लाख कोरियन वन, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको बाग्लुङ समाजले पनि १२ लाख वनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
तथा सेमिफाईनल पुग्ने दुई टिम विश्वकर्मा समाज र ताप्लेजुङ समाज ४/४ लाख वन प्राप्त गर्न सफल भए साथै क्वाटर फाईनल खेलबाट बाहिरिने ४ टिमले १/१ लाख वनका दरले सान्त्वना स्वरुप प्राप्त गरे।

प्रतियोगिता स्याङ्जा परिवार दक्षिण कोरियाको आयोजनामा सम्पन्न भएको हो, जसमा दक्षिण कोरियामा रहेका विभिन्न नेपाली समुदायका टिमहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। आयोजकले सम्पूर्ण सहभागी टोली, दर्शक, शुभेच्छुक तथा स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी संस्करणलाई अझ भव्य र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्