नेपाली सम्पर्क समितिद्वारा अगस्ट १७ मा विधान संशोधन सम्बन्धी बृहत् भेला हुने

0
184

दक्षिण कोरियामा क्रियाशील विभिन्न नेपाली संस्थाहरूको साझा छाता संगठनको रूपमा चिनिने नेपाली सम्पर्क समिति, दक्षिण कोरियाले आगामी अगस्ट १७ तारिख आइतबार बिहान ११:०० बजे सउलस्थित 종로구 창신길 51(창신동) 5충, 총로중앙세마을금고 को हलमा ‘विधान संशोधन सम्बन्धी बृहत् भेला’ गर्ने भएको छ।

सन् १९९३ मा स्थापना भएको यो संस्थाले दक्षिण कोरियामा रहेका नेपाली संघ–संस्था, सामाजिक अभियन्ता, बुद्धिजीवी, व्यवसायी तथा श्रमिक समुदायबीच आपसी एकता, समन्वय र सहकार्यको सुदृढीकरणलाई लक्षित गर्दै कार्यक्रमको आयोजना गर्न लागेको हो।

कार्यक्रमको मूल उद्देश्य संगठनको विधान संशोधन, संस्थागत संरचनाको पुनर्संरचना, तथा भावी कार्ययोजना निर्माणमा सबै पक्षको समावेशी र सक्रिय सहभागिता सुनिश्चित गर्नु रहेको जनाइएको छ।

कार्यक्रममा विधान संशोधन समितिका संयोजक डा. एकराज बराल रहेका छन् भने दीपक थापा मगर सदस्य सचिवको भूमिकामा छन्। समितिमा अन्य सदस्यहरूमा भवानीप्रसाद (बिपि) पौड्याल, धर्मराज तिवारी, हर्क विष्ट, ईश्वर धामी, ओमलाल ओली, प्रविण गिरी, किरण बन्जाडे, केदार निरौला र हरिप्रसाद खनाल रहेका छन्।

सम्पर्क समितिले कोरियामा रहेका सम्पूर्ण नेपाली संघसंस्था, अग्रज, युवा, महिला, श्रमिक तथा सबै सरोकारवाला नेपाली समुदायलाई निसंकोच उपस्थित भई संगठनको भविष्य निर्धारणमा विचार राख्न र सक्रिय सहभागिता जनाउन विशेष आग्रह गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्