दक्षिण कोरियाको थेसो क्षेत्रमा नेपालीहरूको बाक्लो उपस्थिति बीच भावनात्मक र सामाजिक सन्देशले भरिएको नयाँ तीज गीत “मेरो त देशै माइती भयो” को छायांकन कार्य सम्पन्न भएको छ।
लोकप्रिय लोकगायिका पूर्णकला बिसीको सुमधुर स्वर, दिवस तिवारीको शब्द र संगीतमा सजिएको यो गीत चाँडै Bharat Chettri युट्युब च्यानलमार्फत सार्वजनिक हुने तयारीमा छ।
गीतमा बिदेशीसँग विवाह गरेर देशलाई माईती सम्झिन बाध्य नेपाली चेलीहरूको कथा, परदेशको पीडा, विवाहपछिको सामाजिक चुनौती, साथै बेचिएका चेलीहरूको वेथालाई समेत भावुक शैलीमा प्रस्तुत गरिएको छ। तीज पर्वको मौलिकता भित्र लुकेको यथार्थ जीवनका तिता सत्यहरूलाई गीतमार्फत उजागर गरिएको छ। 
संगीत संयोजन रमेश सेन्चुरीले, रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ सुरज भुसालले गरेका हुन्। भिडियो निर्देशन तथा छायांकन सोनम पराजुलीले गरेका छन्।गीतमा प्रमिला भट्टराई र शोनीप विक्रम शाहीको अभिनय, साथै निकिता थापा, दीपिका थापा र प्रीति पाण्डेको आकर्षक नृत्यले भावनात्मक कथा सशक्त रूपमा दर्शाएको छ। सुटिङ व्यवस्थापन जनक भट्टराईले सम्हालेका थिए।
विदेशमा रहेर पनि नेपाली कला, संस्कृति र पर्वलाई जगेर्ना गर्दै सिर्जनात्मक पहिचान बनाउने यो प्रयासले नेपाल तथा कोरियामा रहेका नेपाली समुदायको भावना, पिडा र आशालाई छुने विश्वास गरिएको छ। 
“मेरो त देशै माइती भयो” ले तीज पर्वको उल्लाससँगै सामाजिक यथार्थ र महिलाहरूको आत्मबेदनलाई सजीव रूपमा प्रस्तुत गर्दै दर्शक–श्रोताको मन छुने अपेक्षा गरिएको छ। 






