दक्षिण कोरियाको राजधानी सिओलस्थित कुक्किवोनमा सम्पन्न २०२५ UNA विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी मास्टर राज कुमार दराईले स्वर्ण पदक जित्न सफल भएका छन्। 
व्यक्तिगत पुम्से सिनियर–२ (३०–३९ वर्ष उमेर समूह) तर्फबाट प्रतिस्पर्धा गरेका मास्टर दराईले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक नेपालका नाममा सुरक्षित गरेका हुन्। उनले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा गौरवान्वित बनाउने उत्कृष्ट उपलब्धि हासिल गरेका छन्।
स्वर्ण पदक जितेपछि प्रतिक्रिया दिंदै मास्टर दराईले आफूलाई सफल बनाउने यात्रामा कोरियामा बसोबास गरिरहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको निरन्तर साथ र समर्थनको महत्वपूर्ण योगदान रहेको बताउनुभयो। उहाँले विशेषतः रोहित राजवंशी, जीवन खतिवडा, दीपक पुन, राजकुमार स्याङ्तान, विवि स्याङ्तान तामाङलगायत थुप्रै नेपाली साथीहरूलाई प्रत्यक्ष वा परोक्ष रूपमा प्रदान गरिएको सहयोगका लागि हार्दिक आभार प्रकट गर्नुभएको छ।
चितवनको खैरहनी नगरपालिका–११ निवासी मास्टर दराई लामो समयदेखि तेक्वान्दो मार्फत नेपाली पहिचान अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न सक्रिय रहँदै आएका छन्। यो स्वर्ण पदकसँगै उनले खेल क्षेत्रमा नेपाली प्रतिभाको क्षमता र उपस्थितिलाई फेरि एकपटक संसार सामु उजागर गर्न सफल भएका छन्।






