गैरआवासीय नेपाली संघ (एनआरएनए) कप २०८२ सम्पन्न, पोखरा युनाइटेड फुटबल क्लब च्याम्पियन

0
200

सउल, दक्षिण कोरिया गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको आयोजनामा सम्पन्न एनआरएनए कप २०८२ (२०२५) फुटबल प्रतियोगितामा पोखरा युनाइटेड फुटबल क्लब विजेता बनेको छ। राजधानी सउलस्थित इक्सान खेल मैदानमा २९ जुनमा आयोजित फाइनल खेलमा पोखरा युनाइटेडले जेएनएफसी (JNFC) लाई पराजित गर्दै उपाधि जित्न सफल भयो।

प्रतियोगितामा दक्षिण कोरियाभरिबाट ३० वटा नेपाली फुटबल क्लबहरूको सहभागिता रहेको थियो। टिमहरू पोल ए र पोल बी गरी दुई समूहमा विभाजन गरिएका थिए। सुरु देखिनै प्रतिस्पर्धात्मक खेल, अनुशासन र उत्कट उत्साहका साथ खेलहरू सञ्चालन भएका थिए। सेमिफाइनलसम्म असाङ फुटबल क्लब (Ashyang FC) र बोङ्पो ब्रदर्स फुटबल क्लब (Bongpo Brothers FC) पुगेका थिए। फाइनल खेल पोखरा युनाइटेड र जेएनएफसीबीच भएको थियो, जहाँ पोखरा युनाइटेडले उत्कृष्ट रणनीति र टिम समन्वयका साथ जित दर्ता गर्‍यो।

प्रतियोगिता समापन समारोहमा व्यक्तिगत र समूहगत उत्कृष्टता देखाउने खेलाडी तथा प्रशिक्षकहरूलाई सम्मान गरिएको थियो। पोखरा युनाइटेडका छिरिङ तामाङ उत्कृष्टफ गोलरक्षक, दावा दुक्पा शेर्पा उत्कृष्ट मिडफिल्डर, र यू. डी. पुन प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए। जेएनएफसीका निरज जङ कार्की उत्कृष्ट डिफेन्डर, खुमाहाङ लिम्बू उत्कृष्ट फरवार्ड घोषित भए भने ब्लू लायन फुटबल क्लबका नविन लिम्बू सर्वाधिक गोलकर्ता (हाइ स्कोरर) बने। पोखरा युनाइटेडका प्रशिक्षक मनीष केसी प्रतियोगिताका उत्कृष्ट प्रशिक्षक घोषित भए।

एनआरएनए दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्‍याउने सम्पूर्ण क्लब, खेलाडी, दर्शक, आयोजक समिति, स्वयंसेवक र प्राविधिक समूहलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले यस्ता कार्यक्रमहरूले कोरियामा रहेका नेपाली समुदायबीच आपसी मेलमिलाप, भाइचारा र आत्मीय सम्बन्ध थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो। साथै, भविष्यमा अझ ठूलो स्तरमा यस्ता प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

एनआरएनए कप २०८२ ले प्रवासी नेपालीबीच खेलकुदप्रतिको रुचि, सहभागिता र एकताको भावना झनै बलियो बनाएको छ। खेलकुदको माध्यमबाट समुदायमा ऊर्जा, साहस र समन्वयको सन्देश प्रवाह गर्ने उद्देश्यसहित गरिएको प्रतियोगिता सफलताको उदाहरण बनेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्