मोक्पो, दक्षिण कोरिया — “सुख–दुःख, खेलकुद र मनोरञ्जनको संगम, मोक्पो साझा चौतारी” भन्ने नारासहित मोक्पो V.C. र मोक्पो साझा चौतारीको संयुक्त आयोजनामा सम्पन्न ‘प्रथम मोक्पो भलिवल कप–२०२५’ मा बागलुङ समाज दक्षिण कोरियाले उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको छ।
प्रतियोगिताको फाइनल खेलमा बागलुङ समाजले कडा प्रतिस्पर्धामा गुल्मी सम्पर्क समाजलाई पराजित गर्दै उपाधि उचालेको हो।
कुल १८ टिमको सहभागिता रहेको प्रतियोगितामा बागलुङले उत्कृष्ट समन्वय र रचनात्मक खेल प्रदर्शनका साथ विजयी बन्दै उपाधि जितेको हो।
प्रतियोगितामा व्यक्तिगत विधातर्फ सूर्यजङ क्षेत्री सर्वोत्कृष्ट खेलाडी घोषित भए भने दिनेश क्षेत्री सर्वोत्कृष्ट लिफ्टर र प्रकाश मल्ल सर्वोत्कृष्ट डिफेन्डर घोषित भए। गुल्मी सम्पर्क समाजका प्रताप पुन बेस्ट बल्कर र शिशिर विश्वकर्मा बेस्ट स्पाईकर घोषित भए।
समाजबीच आपसी मेलमिलाप र भाइचाराको सम्बन्ध बलियो बनाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता उत्साहजनक रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ। प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबै प्रायोजक, सहकार्यकर्ता, स्वयंसेवक र सहभागी टिमहरूलाई आयोजकले विशेष धन्यवाद ज्ञापन गरेको छ।






