दक्षिण कोरिया — नेपाली भाषा, भेषभूषा र संस्कृतिको संरक्षण तथा प्रवर्धनमा सक्रिय भूमिका खेल्दै आएको पूर्वी नेपाल समाज दक्षिण कोरियाले आफ्नो १०औं वार्षिकोत्सवको अवसरमा आगामी अगस्ट २ र ३ गते वृहत वनभोज कार्यक्रम आयोजना गर्न लागेको छ। दुई दिन एक रातको यस कार्यक्रम ‘Two Day + One Night with DJ’ भन्ने नारासहित गरिनेछ।
ग्याङ्ग्वोन प्रान्त अन्तर्गत पर्ने 청평면 대성리 570-2 (늘푸른 캠프) मा आयोजना हुने कार्यक्रम विविध सांस्कृतिक, मनोरञ्जनात्मक र खेलकुद गतिविधिले भरिपूर्ण हुनेछ। नेपाली स्वाद र संस्कृतिको अनुभव दिलाउने उद्देश्यले परिकारहरू, पञ्चेबाजासहितको सांस्कृतिक प्रस्तुति, नेपाली लोकनृत्य र रातभर रमाइलो डीजे पार्टीसमेत आयोजना गरिनेछ।
खेलकुदतर्फ खुल्ला भलिबल प्रतियोगिता, फुटसल, म्युजिकल कुर्सी तथा महिला तथा पुरुष छुट्टाछुट्टै खेल प्रतिस्पर्धाहरू तय गरिएको आयोजकले जानकारी दिएको छ। प्रतिस्पर्धामा विजयी खेलाडी तथा समूहलाई आकर्षक पुरस्कार वितरण गरिनेछ।
कार्यक्रममा सहभागी हुन पुरुषका लागि १ लाख वोन, महिलाका लागि ८० हजार वोन, विद्यार्थीका लागि ७० हजार वोन र दम्पतीका लागि १ लाख ६० हजार वोनको सहभागिता शुल्क तोकिएको छ। कार्यक्रमस्थलमा जानको लागि डोंदेमुन ६ नम्बर गेटबाट बेलुका ६ बजे र ७ बजे दुई बस छुट्ने व्यवस्था गरिएको छ।
कार्यक्रम सफल पार्न कोरियामा क्रियाशील विभिन्न नेपाली संघसंस्थाको सहकार्य रहनेछ। साथै, कोरियामा लोकप्रिय मिडिया संस्था, सामाजिक अभियन्ता तथा स्थानीय कलाकारहरूको समेत उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ। कार्यक्रम संयोजनमा संलग्न सम्पर्क व्यक्तिहरूले इच्छुक सहभागीहरूलाई समयमै सम्पर्क गर्न अनुरोध गरेका छन्।
पूर्वी नेपाल समाज दक्षिण कोरियाले विगत दुई दशकदेखि कोरियामा कार्यरत नेपाली समुदायको साझा पहिचान र एकता अभिवृद्धिमा निरन्तर क्रियाशील रहँदै आएको छ। यसपटकको कार्यक्रम पनि समुदायमा थप सकारात्मक ऊर्जा र सहकार्यको भावना विकास गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।






