दक्षिण कोरिया, ख्यङ्गि प्रान्त — ख्यङ्गि दो प्रान्त अन्तर्गत ख्वाङ्जु, सङ्नाम, इछन, यजु र योङ्गिनमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरूको साझा संस्था ‘ख्यङ्गि ख्वाङ्जु नेपाली एकता समाज दक्षिण कोरिया’ले वनभोज कार्यक्रमबाट संकलित रकमबाट नेपालमा विज्ञान, अनुसन्धान र आविष्कारका क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आइरहेको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको छ।
समाजले २०२५ अप्रिल १९ मा आयोजना गरेको रमाइलो वनभोज कार्यक्रममा सहभागीहरूको योगदानबाट संकलित रकममध्ये बचत भएको रकममा थप गरी रु. १ लाख ५० हजार (रु. १,५०,०००) नेपाल पठाइएको छ।
संस्थाका अध्यक्ष नवराज भट्टराईका अनुसार, यो रकम राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई हाल वीरगञ्जस्थित कृषि औजार कारखानामा भेटी हस्तान्तरण गरिएको हो। सो अवसरमा संस्थाले सम्मान पत्रद्वारा महावीर पुनलाई सम्मान समेत गरेको छ।
अध्यक्ष भट्टराईले भन्नुभयो, “दक्षिण कोरियामा रहेका नेपालीहरूबीच आपसी सद्भाव र सहयोग अभिवृद्धि गर्दै मातृभूमिमा पनि सकारात्मक योगदान पुर्याउने उद्देश्यले हाम्रो संस्था विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ। यस पटक राज्यबाट अपेक्षित सहयोग नपाएको राष्ट्रिय आविष्कार केन्द्रलाई सानो भए पनि हाम्रो तर्फबाट सहयोग गर्न पाउँदा खुशी लागेको छ।”
वनभोज कार्यक्रमले मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्व वहन गर्न पनि सहयोग पुर्याएको बताउँदै संस्थाले आगामी दिनमा यस्तै रचनात्मक कामहरू निरन्तर गर्ने प्रतिबद्धता जनाएको छ। 






