गुमीमा हुने एशियाली एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालबाट पाँच खेलाडीको सहभागिता

0
206

दक्षिण कोरियाको सांस्कृतिक तथा पर्यटकीय सहर गुमी (구미시) मा २०२५ मे २७ देखि ३१ तारिखसम्म आयोजना हुने २५औं एशियाली एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालले पाँच खेलाडी र एक पदाधिकारीको टोली पठाउने भएको छ।

नेपाल टोलीको नेतृत्व प्रशिक्षक उषाकुमारी चौधरीले गर्नुहुनेछ। सहभागी खेलाडीहरूमा ज्याभलिन थ्रोकी चन्द्रकला लामगादे, १५०० मिटर दौडकी फुलमाया राना, लङ जम्पका सलिम खान, १०० मिटर दौडका शिवराज पार्की तथा १५०० र ५००० मिटर दौडका मुकेश पाल रहेका छन्।

एसियाली एथ्लेटिक्स महासंघद्वारा आयोजित यो प्रतियोगिता एसियाली क्षेत्रकै सबैभन्दा प्रतिष्ठित र ठुलो एथ्लेटिक्स खेल मानिन्छ। यसपटक प्रतियोगितामा ४५ देशका १२०० भन्दा बढी खेलाडीहरूको सहभागिता रहनेछ। साथै, यो प्रतियोगिता २०२६ टोक्यो ओलम्पिकको छनोट खेलको रूपमा पनि लिइएको छ।

खेल गुमी सिटीजन स्टेडियम (구미시민운동장) मा हुनेछ भने सम्पूर्ण खेल र कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। आयोजकले दक्षिण कोरियामा बसोबास गर्ने सम्पूर्ण नेपाली संघ–संस्था, खेलप्रेमी र देशप्रेमीहरूलाई नेपाली खेलाडीलाई प्रत्यक्ष मैदानमै आएर हौसला प्रदान गर्न आग्रह गरेका छन्।

जानकारी नेपाल सम्पर्क समितिका कार्यबाहक अध्यक्ष हर्क बिष्टले दिनुभएको हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्