प्रथम गोरखा कप भलिबल प्रतियोगिता २०२५ दक्षिण कोरियामा हुँदै

0
144

दक्षिण कोरिया – नेपाली समुदायमा स्वास्थ्य, मनोरञ्जन र आपसी एकता अभिवृद्धि गर्ने उद्देश्यका साथ नेपाल गोरखा परिवार, दक्षिण कोरियाको आयोजनामा “प्रथम गोरखा कप भलिबल प्रतियोगिता २०२५” सम्पन्न हुने भएको छ। प्रतियोगिता यही आउँदो जुन ८, २०२५, आइतबारका दिन, सुवोनस्थित आजु युनिभर्सिटीको भलिबल स्टेडियममा आयोजना गरिनेछ।

दक्षिण कोरियामा कार्यरत नेपालीहरूबीच आपसी सहयोग, सद्भाव र खेलकुदको माध्यमबाट सञ्जाल विस्तार गर्ने हेतुले आयोजना गरिने यो प्रतियोगितामा इच्छुक टिमहरूले ३ लाख ५० हजार वोन टिम दर्ता शुल्क बुझाएर सहभागी हुन सक्नेछन्। प्रतियोगितामा सहभागी हुने टिमहरूले जुन 1, २०२५, दिउँसो १२ बजेभित्र टिम दर्ता गरिसक्नुपर्नेछ।

प्रतियोगितामा प्रथम हुने टिमले २० लाख वोनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो स्थान हासिल गर्ने टिमले १२ लाख वोनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। सेमिफाइनलसम्म पुग्ने टिमहरूलाई ४ लाख वोनसहित प्रमाणपत्र प्रदान गरिनेछ। साथै उत्कृष्ट खेलाडीलाई १ लाख वोन र उत्कृष्ट स्पाइकर, लिफ्टर तथा डिफेन्डरलाई जनही ५० हजार वोन प्रदान गरिनेछ।

खेल संयोजक मुकेस सेन्चुरिले प्रतियोगिता  तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्। दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहभागी भइ प्रतियोगितालाई सफल बनाउन आग्रह गरिएको छ।

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले यस्तो किसिमको खेलकुद प्रतियोगितामार्फत नेपाली समुदायलाई एकताको सन्देश दिन सकेकोमा गर्व महसुस गरिरहेको जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्