“किरातीहरूको प्रकृति पूजा: साकेला उभौली दक्षिण कोरियामा पनि उल्लासपूर्वक मनाइँदै”

0
186

किरातीहरको महान चाड उभौली किरातीहरूको महत्त्वपूर्ण चाड वसन्त ऋतुमा वालीनाली राम्रो होस् सबैमा सुख शान्ति सूस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपक्तिहरू नआउन् भनि पुजा गरी मनाउने गरिन्छ।यस चाडमा राईहरू साकेला/सखेवा शिली नाच्दै प्रकृतिलाई पुजा गरिन्छ ।किराँतीहरूको यो चाड पृथ्वीमा कृषियुग शुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ ।

उभौली चाडमा किरात खम्बु (राई)हरु आफ्नो जातीय पहिरन(भेषभुषा)मा सजिएर साकेला/साकेन्वा/सखेवा सिली नाच्छन् । कालो कोट, दौरा-सुरूवाल, बुकी फूल सिउरिएर, खुकुरी भिरेर नेपाली टोपीमा ठाँटिएर पुरुषहरू साकेला सिलीमा ताल मिलाउदै गोलबन्द भएर नाच्छन् भने महिलाहरू पनि कम्मरमा पटुकी कसेर चौबन्दी चोली र छिटको फरिया अनि पहेंलपुर गरगहनामा सजिएर उनीहरूलाई शिलिको इसारा गर्दै नाच्छन् । हातमा चौरीको पुच्छर, सिलिमी , पोमी, लिङ्चिबुङ्को डाला, चमर र सिम्कौली सेउली लिएर नाचिन्छ । स्याउला, ढोल, झ्याम्टा, बिनायो तथा हारी छातीमा झुन्ड्याएर उनीहरू आफूलाई सजाउँछन् । गोलाकार घेरामा रहेर नाचिने साकेला शिली अहिले सबै जातीका युवायुवतीको पनि सहभागिता बढ्दो छ ।

प्रत्येक वर्ष बैशाख पुर्णिामा देखि यी जातिहरूले भव्य रूपमा किराँती रितीअनुसार भूमीको पूजा गरी उभौली चाड अर्थात भूमी पूजा गरी साकेला शिलि नाच्दै १ महिना सम्म मनाउने गर्छन। किरातीहरू प्रकृति पुजक भएकोले प्रकृतिलाई खुशी पार्नकालागि हरेक वर्ष वाली लगाउने समय बुद्धजयन्ती अर्थात बैशाख पुर्णिामा उभौली र अन्न वाली पाकिसकेपछि खुसीयाली मनाउदै उधौली (मंसिरे पूर्णिमा) विशेषरूपले खुसीयाली साथ आफ्नो प्रमुख चाडका रूपमा मनाउन गरेका छन् । फलामे रेटि रेटौला, नमरी बाँचे भेटौंला सोई सोइला होई सोई सोइला । यो नाच परापूर्व कालमै प्रारम्भ भएको हो । किराँत खम्बु-राईहरूले पितृपूजा र प्रकृति पूजा गर्छन् । किराँत खम्बु-राईहरूले आफ्ना यो विशेष पर्व साकेला साकेन्वा ऋतु परिवर्तनसँगै वर्षमा दुई पटक मनाउँछन् । उभौली र उधौलीका रूपमा बालीनाली लगाउने र थन्क्याउने अवसरमा यो चाड मनाइन्छ । अन्नबाली लगाउने समयमा मनाइने चाड उभौली बालीनालीमा रोगव्याधि नलागोस्, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपबाट बाँचियोस् तथा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगत्को रक्षा गरून् भन्ने कामनाका साथ मनाइन्छ ।
दक्षिण कोरियामा पनि नेपालीहरुको बढ्दो जनसङ्ख्याका कारण किरातीहरुको पनि सङ्ख्या बढिरहेको अवस्थामा यहाँ भएका राई समुदायले पनि आफ्नो मौलिक साँस्कृतिक चाड साकेला उभौली बार्षिक रुपमा मनाउदै आइरहेको छ ।
यो बर्षको पहिलो साकेला मे १८ तारिक किरात राई यायोक्खा जेजुदोले आयोजना गर्नेछ भने त्यस्तै गरी मे २५ मा किरात राई यायोक्खा सउल केन्द्र, जुन १ मा किरात राई यायोक्खा बुसान शाखा र जुन ८ मा किरात राई यायोक्खा गजेदो र इक्सान शाखाले आयोजना भएको गर्ने भएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्