“सउलमा ‘लोटस ल्यान्टर्न फेस्टिभल २०२५’: अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सांस्कृतिक पहिचान”

0
214

 

दक्षिण कोरियाको राजधानी सउलमा आगामी अप्रिल २५ देखि २७ सम्म “लोटस ल्यान्टर्न फेस्टिभल २०२५” आयोजना हुँदैछ। बुद्ध जयन्तीको अवसरमा आयोजित यो उत्सव युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदामा सूचीकृत एक ऐतिहासिक तथा धार्मिक पर्व हो, जसले बुद्धको जन्म, ज्ञान प्राप्ति र निर्वाणको सम्झना गराउँछ। “प्रकाश, आशा र एकता” को प्रतीकको रूपमा यस फेस्टिभललाई दक्षिण कोरियामा झन्डै १३०० वर्षदेखि मनाइँदै आएको छ।

यस ऐतिहासिक कार्यक्रममा नेपाल बौद्धपरिवार, एनआरएनए दक्षिण कोरिया, नेपाल सम्पर्क समिति, धमाईघ्यु गुम्बा, हाल्मो सम्पर्क समिति र नेपाल तामाङ घेदुङ , दक्षिण कोरियामा सक्रिय प्रदेश समाज र विभिन्न जिल्लालगायतका नेपाली संस्थाहरूले सक्रिय सहभागिता जनाउने भएका छन उनीहरूले नेपाली परम्परागत पोशाकमा सजिएर नेपालका जातीय, सांस्कृतिक र कलात्मक झाँकीहरू प्रस्तुत गर्दै नेपालको पहिचान उजागर गर्नेछन्। “बुद्ध नेपालमा जन्मनु भएको हो” भन्ने सन्देश विश्वभर फैलाउने उद्देश्यले नेपाली समुदायले यस पर्वमा विशेष प्रस्तुति दिनेछ।

अप्रिल २६ मा दिउँसो दोङगुक विश्वविद्यालय स्टेडियममा हुने एउल्लिम मादाङ कार्यक्रमबाट उत्सवको सुरुआत हुनेछ, जुन साँझ ७ बजेदेखि सुरु हुने ल्यान्टर्न परेडद्वारा थप आकर्षक बन्नेछ। यो परेड ह्युन्जिनिमुन (Dongdaemun Gate) बाट सुरु भई ऐतिहासिक जोगेसा गुम्बामा समापन हुनेछ। हजारौं रंगीचंगी बत्तीयुक्त झाँकीहरू, नाचगान र सांस्कृतिक प्रस्तुतीहरूले वातावरण उज्यालो बनाउनेछ।

परेडपछिको रात जोंगगाक चोकमा सामूहिक उत्सव “देदोङ हानमादाङ” आयोजना गरिनेछ। यहाँ परम्परागत नृत्य, संगीत र सामूहिक उत्साह प्रस्तुत गरिनेछ। भोलिपल्ट अप्रिल २७ मा जोगेसा गुम्बाको अगाडि विभिन्न देशका सांस्कृतिक स्टलहरू राखिनेछन्। यी स्टलहरूमा विविध देशले आफ्ना मौलिक झाँकी र हस्तकला प्रदर्शनीमार्फत आफ्नो संस्कृति प्रस्तुत गर्नेछन्। नेपाली तर्फबाट विशेष रूपमा तामाङ नाच, घेदुङको सांस्कृतिक झाँकी तथा हाल्मो सम्पर्क समितिको प्रस्तुति समावेश हुनेछ।

कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई उत्सवलाई अझ भव्य बनाउन आ-आफ्नो नेपाली जातीय पोशाकमा सजिएर सहभागी हुन नेपाल बौद्ध परिवारले अनुरोध गरेको छ। यो अवसरले अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालको सांस्कृतिक सम्पदा र ऐतिहासिक गौरवलाई प्रस्तुत गर्ने सुनौलो अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्