सोल, दक्षिण कोरिया — गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङले हालै सम्पन्न एक सार्वजनिक कार्यक्रममा आफूलाई लक्षित गर्दै प्रयोग गरिएको अमर्यादित र आपत्तिजनक भाषाप्रति कडा आपत्ति जनाएका छन्।
नेपाल सरकारका राज्यमन्त्री अरुण कुमार चौधरी, एनआरएनएका पूर्व अध्यक्ष शेष घले तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा महामहिम नेपाली राजदूत र गुरुङलाई लक्षित गर्दै प्रयोग गरिएका तुच्छ अभिव्यक्तिप्रति गुरुङले सामाजिक सञ्जालमार्फत गम्भीर असन्तोष व्यक्त गरेका हुन्।
सार्वजनिक गरिएको विज्ञप्तिमा अध्यक्ष गुरुङले यस्ता अभिव्यक्तिले व्यक्तिगत मात्र होइन, संस्थागत मर्यादा र सम्पूर्ण प्रवासी नेपाली समुदायको गरिमामाथि आँच पु¥याएको उल्लेख गरेका छन्। उनले गैर-जिम्मेवार क्रियाकलापको घोर भर्त्सना गर्दै सम्बन्धित व्यक्तिहरूलाई आगामी दिनमा यस्ता गतिविधिबाट टाढा रहन आग्रह गरेका छन्।
“म कसैसँग व्यक्तिगत दुश्मनी राख्दिन। सधैं सभ्यता र प्रक्रियागत समाधानमै विश्वास गर्छु,” गुरुङको भनाइ छ।
त्यसैगरी, उनले एनआरएनए दक्षिण कोरियाको नवौं महाधिवेशनसँग सम्बन्धित विवादप्रति पनि चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार, निर्वाचनमा पराजित उम्मेदवार विपिन गुरुङले आफूलाई स्वघोषित अध्यक्ष घोषणा गर्नु, ‘एकता महाधिवेशन’ नाममा नयाँ नाटक मञ्चन गर्नु र त्यसकै आडमा चरित्र हत्या अभियान सञ्चालन गर्नु नियोजित विभाजनको स्पष्ट संकेत हो।
“यदि यस्ता अवाञ्छित गतिविधिहरू यथाशीघ्र रोकिनेछैनन् र सार्वजनिक रूपमा क्षमा याचना गरिएन भने, म कानुनी विकल्प रोज्न बाध्य हुनेछु,” अध्यक्ष गुरुङले स्पष्ट चेतावनी दिएका छन्।
अन्त्यमा, उनले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई शान्ति, सद्भाव र सहकार्यको भावना बोकेर अघि बढ्न आग्रह गर्दै, समुदायबीच एकता र विश्वास कायम राख्ने प्रतिबद्धता दोहोर्याएका छन्।






